
भक्तपुर । १९ वर्षमूनीको वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले जित निकालेको छ ।
गण्डकी प्रदेशले कर्णाली प्रदेशमाथि १ सय ९ रनको जित निकालेको हो । जारी प्रतियोगितामा यो जित गण्डकीको पहिलो जित समेत हो ।
काठमाडौंस्थित मुलपानी क्रिकेट मैदानमा भएको खेलमा जितका लागि २ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले ३० ओभरमा अलआउट हुदै मात्र १ सय २५ रन बनायो ।
कर्णालीका लागि सुवास ऐयरले ३२ रन जोड्दा विपीन रावलले १९ रन जोडे । त्यस्तै, मनिश थापाले १८ रन जोड्दा युनिस सिंहले १२ बनाए ।
गण्डकीको लागि सुवास भण्डारीले सर्वाधिक ६ विकेट लिए । त्यस्तै, सिब्रिन श्रेष्ठले ३ विकेट लिँदा निर्तिश गिरीले १ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा २ सय ३४ रन बनाएको थियो । गण्डकीका लागि गोविन्द विक र अर्जुन कुमालले अर्धशतक बनाए ।
गोविन्दले ५५ तथा अर्जुनले ५० रनको पारी खेलेका थिए । त्यस्तै, दिपक डुम्रेले ४४ रन बनाउँदा सिब्रिन श्रेष्ठले २६ तथा सुवास भण्डारी २१ रनको योगदान गरे ।
कर्णालीका लागि आवास शाहले ३ विकेट हात पार्दा मोहन विकले २ विकेट लिए । त्यस्तै, विनित खत्रीले १ विकेट आफ्नो नाममा गरे ।