भक्तपुर । काठमाडौंमा जारी १९ वर्षमूनीको वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले जित हात पारेको छ ।
आजको जितसंगै बागमतीले जारी प्रतियोगितामा लगातार दोस्रो जित प्राप्त गर्यो । टियू क्रिकेट मैदानमा बागमतीले शुक्रबार प्रदेश १ लाई ७२ रनले पराजित गरेको हो ।
२ सय ७० रनको विजयी लक्ष्य पछ्याउने क्रममा प्रदेश १ ४९.१ ओभर खेल्दै १ सय ९७ रनमा अलआउट भयो । प्रदेश १ का लागि दीपेश कडेंलले ४७ रन बनाए । स्टेन रिजालले ३५ रनको योगदान दिँदा शुभम् गहतराजले २६ रन जोडे । त्यस्तै, फैजल रहमानले २४ रन बनाउँदा विपिन महतोले २१ रन जोडे ।
बागमतीका लागि सक्रिय कार्कीले ३ तथा ओमकार यादवले २ विकेट लिए । त्यस्तै, अभिषेक कोईराला,अर्थब पौडेल र अहमद राजाले समान १–१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको बागमतीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६९ रनको राम्रो योगफल तयार गरेको थियो ।
बागमतीका लागि प्रतिक श्रेष्ठले अविजित १ सय ४२ रनको शतकीय पारी खेले । अशोक पौडेलले २५ रनको योगदान गर्दा सक्षम बस्ताकोटीले २३ रन बनाए । त्यस्तै, अर्थब पौड्यालले १५ तथा योगेश भाटले १४ रनको योगदान गरेका थिए ।
प्रदेश १ का लागि दिपेश कडेंल र विपिन महतोले समान २–२ विकेट लिँदा अभिनय राजवंशी,आशिष मगर र सोनु अन्सारीले समान १–१ विकेट लिएका थिए ।