भक्तपर । नेपाल क्रिकेट संघ (क्यान) ले पत्रकार सम्मेलन गरी १९ वर्षमूनीको वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ ।
प्रतियोगिता भोलि मंसिर ७ गतेबाट सुरु भएर १९ गतेसम्म काठमाडौंस्थित टियू क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा चल्नेछ ।
प्रतियोगिताको विजेताले नगद रु. २ लाख प्राप्त गर्नेछ । त्यस्तै, उपविजेताले १ लाख नगद पाउने क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले जानकारी दिए ।
विधागत रुपमा प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याटरले १०–१० हजार पाउने छन् । म्यान अफ द म्याचले २ हजार पाउनेछ ।
त्यस्तै, म्याच मनी बापत १ हजार प्राप्त गर्नेछ । प्रतियोगिताको कुल बजेट १ करोड २५ लाख ८० हजार रहेका बताइएको छ ।
प्रतियोगितामा प्रदेश–१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश गरी ७ टोलीको सहभागिता रहनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा भोली बागमती प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।