
एजेन्सी । कोलम्बियामा जारी फिफा यु–२० महिला विश्वकपमा अर्जेन्टिनामाथि फराकिलो जित निकाल्दै जर्मनी क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शुक्रवार विहान भएको खेलमा अर्जेन्टिनामाथि जर्मनीले ५–१ को फराकिलो जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
इस्टाडियो मेट्रोपोलिटानो डि टेचो रंगशालामा भएको खेलमा जर्मनीका लागि सोफि नाचटिगलले दुई गोल गर्दा माथिल्ड जानजेन, लोरेन बेन्डर र कोरा जिकाइले समान एक–एक गोल गरे ।
पराजित टोलीका लागि भने डेलफिना लोमबार्डीले सान्तोना गोल फर्काइन् ।
खेल सुरु भएको छैटौं मिनेटमा जानजेनको गोलमार्फत् जर्मनीले सुरुवाती अग्रता लियो ।
त्यसपछि २४ औं मिनेटमा बेन्डेरको पासमा नाचटिगलले गोल गर्दा जर्मनी २–० ले अघि बढ्यो ।
त्यसको दुई मिनेटपछि नै जिकाइको पासमा बेन्डरले गोल थप्दा जर्मनी ३–० ले अघि बढ्यो ।
त्यस्तै, ३७ औं मिनेटमा नाचटिगलले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा जर्मनी ४–० ले अघि बढ्यो ।
तर, अर्जेनिटनाका लागि लोमबार्डीले गोल फर्काउँदा खेल ४–१ को अवस्थामा आयो ।
यता, दोस्रो हाफको ६९ औं मिनेटमा जिकाइले गोल थप्दा जर्मनी ५–१ को फराकिलो अन्तरले विजयी भयो ।