एजेन्सी । कोलम्बियामा जारी फिफा यु–२० महिला विश्वकपमा संयुक्त राज्य अमेरिका तेस्रो भएको छ ।
आईतवार विहान तेस्रो स्थानको लागि भएको खेलमा युरोपेली टोली नेडरल्याण्ड्समाथि २–१ को जित निकाल्दै संयुक्त राज्य अमेरिका तेस्रो भएको हो ।
इस्टाडियो नेमेसियो कामाचो इल काम्पिन रंगशालामा भएको रोमाञ्चक खेलमा निर्धारित ९० मिनेटको समय १–१ को बराबरीमा सकिँदा निर्णय अतिरिक्त समयमा भयो ।
खेल सुरु भएको १० औं मिनेटमा गिसेल थोमसनको पासमा एलिसन सेन्टनोरको गोलमार्फत् अमेरिकाले सुरुवाती अग्रता लियो ।
तर, २६ औं मिनेटमा डच टोलीकी लागि फ्लेउर स्टोइटको पासमा रोबिन लाक्रोइसले गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
त्यसपछि निर्धारित ९० मिनेटको समयमा थप गोल ननिस्केपछि खेल अतिरिक्त ३० मिनेट लम्बियो ।
जसको अन्त्यतिर ११९ औं मिनेटमा डच टोलीकी नायोमी बुइकेमाको आत्मघाती गोलमा अमेरिका २–१ ले विजयी भयो ।
यु–२० महिला विश्वकपअन्तर्गत उपाधि भिडन्त अर्थात् फाइनल खेल भने सोमवार विहान एसियाली राष्ट्रद्वय जापान र उत्तर कोरियाबीच हुँदैछ ।