
भक्तपुर । नेपालले आईसीसी यु–१९ क्रिकेट विश्वकप एसिया क्षेत्रको छनोटमा लगातार तेस्रो जित निकालेको छ ।
बुधवार भएको खेलमा नेपालले हङकङलाई ९ विकेटले हराएसंगै छनोट यात्रामा लगातार तेस्रो जित निकालेको हो ।
जितसंगै नेपालले ३ खेलबाट ६ अंक जोडेको छ ।
काठमाडौंको मुलपानीस्थित तल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा ११६ रनको सामान्य विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको नेपालले १२.३ ओभरमा मात्र १ विकेट गुमाउँदै ११८ रन जोड्यो ।
नेपाललाई जिताउन ओपनर ब्याट्सम्यान शाहिल पटेलले ४१ बलमा ८ चौका प्रहार गर्दै ४२ रन जोडेर अविजित रहँदा कप्तान नरेन भट्टले २३ बल खेल्दै ८ चौका प्रहार गरेर ३९ रन जोडेर अविजित रहे ।
त्यस्तै, अर्का ओपनर ब्याटर निरज कुमार यादवले १२ बलमा ४ चौका प्रहार गरेर २३ रन जोड्दै पेविलियन फर्किए ।
नेपालले अतिरिक्त रुपमा ९ रन जोड्यो ।
हङकङका लागि शयान पुरीले १ विकेट लिए ।
त्यसअघि टस जितेको नेपालले हङकङलाई पहिला ब्याटिङमा निम्त्यायो ।
हङकङले ४६.२ ओभरमा अलआउट हुँदा ११५ रन जोड्यो ।
हङकङका लागि कप्तान तथा विकेटकिपर शिव माथुरले ११६ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ६३ रनको अर्धशतकिय पारी खेल्दा आर्या पान्जवानी १३, बीर माथुर १२ ह्यारी थोमस हडसन १०, राजा शाहबाज मोहम्मद र अफताफ मोहमद २–२ तथा अब्दुल सामद खान र शयान पुरी १–१ रनमा पेविलियन फर्किए । हङकङका अन्य ३ ब्याटरले अंकको खाता नै खोल्न सकेनन् ।
हङकङले अतिरिक्त रुपमा ११ रन जोड्यो ।
हङकङलाई सस्तैमा अलआउट गर्न नेपालका लागि युवराज खत्रीले सर्वाधिक ४ विकेट लिँदा बिपिन प्रसाद शर्माले ३, सन्तोष यादवले २ र अशोक धामीले १ विकेट लिए ।