
एजेन्सी । दक्षिण अफ्रिकामा जारी आईसीसी यु–१९ क्रिकेट विश्वकपअन्तर्गत सुपर सिक्सको खेलमा भारतले न्युजिल्याण्डमाथि फराकिलो जित दर्ता गरेको छ ।
मंगलवार भएको खेलमा साविक विजेतासमेत रहेको भारतले न्युजिल्याण्डमाथि २१४ रनको फराकिलो जित दर्ता गरेको हो ।
फराकिलो जितसंगै समूह १ मा रहेको भारतले ६ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।
पराजित न्युजिल्याण्डको भने २ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ ।
ब्लोइमफोन्टेइनस्थित मनगौङ्ग ओभल रंगशालामा भएको खेलमा २९६ रनको विशाल विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको न्युजिल्याण्ड २८.१ ओभरमा अलआउट हुँदा मात्र ८१ रनमा समेतियो ।
न्युजिल्याण्डका लागि कप्तान ओस्कार थोमस ज्याक्सनले ३८ बलमा २ चौका प्रहार गर्दै १९ रन जोड्दा ज्याक अलान जेम्स कमिङले २६ बल खेल्नेक्रममा १ चौका मद्दतमा १६ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, विकेटकिपर अलेक्जान्डर जाभीयर थोम्पसनले १२, जेम्स जेल्सन १०,इवाल्ड वाउटर र्सिउडर र ओलिभर टेवाटियाले समान ७–७ र लाक्लान स्टेकपोलले ५ रन जोड्दा अन्य ब्याटरहरुले रनको खाता नै खोल्न सकेनन् ।
न्युजिल्याण्डले अतिरिक्त रुपमा ५ रन जोड्यो ।
भारतको जितमा सौम्य कुमार पाण्डेले सर्वाधिक ४ विकेट लिँदा राज लिम्बानी र मुशिर खानले २–२ विकेट लिए ।
त्यस्तै, अर्शिन कुलकर्नीले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको भारतले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै २९५ रन जोड्यो ।
भारतका लागि मुशिर खानले १२६ बलमा १३ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक १३१ रनको शतकिय पारी खेल्दा ओपनर ब्याट्सम्यान आर्दश सिंहले ५८ बलमा ६ चौका प्रहार गर्दै ५२ रन जोडे ।
त्यस्तै, कप्तान उदय साहरनले ५७ बलमा २ चौका प्रहार गर्दै ३४ रन जोड्दै आउट हुँदा विकेटकिपर अराभेली अभिनाश राव १७, सचिन दास १५, प्रियान्शु मोलिया १०, अर्शिन कुलकर्नी ९ र मुरुगन पेरुमल अभिषेक ४ रनमा पेविलियन फर्किए ।
यता, नमन तिवारी ३ र राज लिम्बानी २ रनमा अविजित रहे ।
भारतले अतिरिक्त रुपमा ५ रन जोड्यो ।
न्युजिल्याण्डका लागि मासन क्लार्कले ४ विकेट लिँदा रायन सौरगास, इवाल्ड वाउटर र्सिउडर, ज्याक अलान जेम्स कमिङ र ओलिभर टेवाटियाले समान १–१ विकेट लिए ।