
एजेन्सी । भारतले आईसीसी यु–१९ क्रिकेट विश्वकपअन्तर्गत समूह चरणको १५ औं खेलमा आयरल्याण्डमाथि फराकिलो जित निकालेको छ ।
विहिवार भएको खेलमा उपाधि दावेदारका रुपमा हेरिएको भारतले एशोसियट राष्ट्र आयरल्याण्डमाथि २०१ रनको फराकिलो जित निकालेको हो ।
फराकिलो जितसंगै समूह ‘ए’ मा रहेको भारतले २ खेलमा शतप्रतिशत जित निकाल्दै ४ अंक जोडेर समूह तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
आयरल्याण्ड भने ३ खेलमा २ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ ।
दक्षिण अफ्रिकास्थित माङगाउ ओभल रंगशालामा भएको खेलमा ३०२ रनको विशाल विजयी लक्ष्य पछ्याएको आयरल्याण्ड २९.४ ओभरमा अलआउट हुँदा मात्र १०० रनमा समेतियो ।
आयरल्याण्डका लागि ड्यानियल फोरकिनले ४० बलमा ४ चौका प्रहार गर्दै २७ रन जोड्दै अविजित रहँदा ओलिभर क्रिस्टोफर रिलेले २६ बल खेल्दै २ चौका प्रहार गरेर १५ रन जोड्दै आउट भए ।
त्यस्तै, विकेटिकिपर रायन हन्टरले २४ बलमा १ चौका प्रहार गर्दै १३ रन जोड्दै आउट हुँदा जोर्डन नेइलले १९ बल खेल्नेक्रममा १ चौका मद्दतमा ११ रन जोडेर पेविलियन फर्किए ।
यता, कियान हिल्टन ९, फिन लुटन ७, म्याकडारा कोस्ग्रेभ ३ र स्कट म्याकबेथ २ रनमा आउट हुँदा अन्य ३ ब्याटर शुन्य रनमा पेविलयिन फर्किए ।
आयरल्याण्डले अतिरिक्त रुपमा १३ रन जोड्यो ।
आयरल्याण्डलाई सस्तैमा समेत्न भारतका लागि नमन तिवारीले सर्वाधिक ४ विकेट लिँदा सौम्य कुमार पाण्डे ३ र कप्तान उदय साहारन, धनुष गौदा र मुरुगन पेरुमाल अभिषेकले समान १–१ विकेट लिए ।
त्यसअघि टस हार्दै पहिला ब्याटिङमा उत्रिएको भारतले निर्धारित ५० ओभरको खेलमा ७ विकेट गुमाउँदै ३०१ रन जोड्यो ।
भारतका लागि मुशिर खानले १०६ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ११८ रनको शतकिय पारी खेल्दा उदय साहरनले ८४ बल खेल्दै ५ चौका प्रहार गरेर ७५ रन जोड्यो ।
त्यस्तै, अर्शिन कुलकर्नीले ५५ बलमा ३ चौका प्रहार गर्दै ३२ रन जोड्ै आउट हुँदा विकेटकिपर अराभेली अभिनाश रावले १३ बलमा ३ चौका प्रहार गर्दै २२ रन जोड्दै पेविलियन फर्किए ।
यता, सचिन दासले ९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २१ रन जोडेर अविजित रहँदा आर्दश सिंहले ३३ बल खेल्दै २ चौका प्रहार गरेर १७ रन जोड्दै पेविलियन फर्किए ।
प्रियान्सु मोइएला २ र मुरुगन पेरुमाल अभिषेक शुन्य रनमा पेविलियन फर्किए ।
भारतले अतिरिक्त रुपमा १४ रन जोड्यो ।
आयरल्याण्डका लागि ओलिभर क्रिस्टोफर रिलेले ३ विकेट लिँदा जोन म्याकनेलीले २ र फिन लुटनले १ विकेट लिए ।