
एजेन्सी । दक्षिण अफ्रिकामा जारी आईसीसी यु–१९ विश्वकपअन्तर्गत खेलमा पाकिस्तानले अफगानिस्तानमाथि फराकिलो जित हासिल गरेको छ ।
सनिवार भएको समूह चरणअन्तर्गत खेलमा पाकिस्तानले अफगानिस्तानमाथि १८१ रनको फराकिलो जित हासिल गरेको हो ।
समूह ‘डी’ मा रहेको पाकिस्तानले फराकिलो जितसंगै तालिकामा २ अंक जोडेको छ ।
बफालो पार्क रंगशालामा भएको खेलमा २८५ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको अफगानिस्तान २६.२ ओभरमा अलआउट हुँदा मात्र १०३ रनमा समेतियो ।
अफगानिस्तानका लागि विकेटकिपर नुमन शाहले ३१ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २६ रन जोड्दा सोहिल खानले २६ बल खेल्दै २ चौका प्रहार गरेर २० रन जोड्दै पेविलियन फर्किए ।
त्यस्तै, राहिमुल्लाह जुरमतीले ३२ बलमा ३ चौका प्रहार गर्दै २० रन जोड्दै आउट हुँदा हस्सन इसाखिलले २९ बल खेल्नेक्रममा ४ चौका प्रहार गर्दै १९ रन जोडेर पेविलियन फर्किए ।
यता, खलिल अहमद ४ रनमा रनआउट हुँदा अल्लाह घजन्फर र अरब गुल समान २–२ र जमशिद जदरान १ रनमा आउट भए ।
अफगानिस्तानका अन्य ३ ब्याट्सम्यानले अंकको खाता नै खोल्न सकेनन् ।
अफगानिस्तानले अतिरिक्त रुपमा ९ रन जोड्यो ।
पाकिस्तानको जितमा उबैद शाहले ७ ओभर बलिङ गर्नेक्रममा १ मेडन राख्दै २६ रन दिएर सर्वाधिक ४ विकेट लिँदा मोहम्मद जिशानले ५ ओभर बलिङ गर्दै १ मेडनसहित १७ रन दिएर ३ विकेट लिए ।
त्यस्तै, अमिर हसन र अहमद हसनले समान १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको पाकिस्तानले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै २८४ रन जोड्यो ।
पाकिस्तानका लागि ओपनर ब्याट्सम्यान शाहजैब खानले १२६ बलमा १० चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक १०६ रनको शतकिय पारी खेल्दा कप्तान तथा विकेटकिपर साद बैगले ५२ बल खेलदै ३ चौका र ४ छक्का प्रहार गर्दै ५५ रनको अर्धशतकिय पारी खेल्दै पेविलियन फर्किए ।
त्यस्तै, मोहम्मद रियाज उल्लाहले ४९ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४६ रन जोडेर आउट हुँदा उबैद शाहले १२ बलमा ३ छक्का प्रहार गर्दै २२ रन जोडेर पेविलियन फर्किए ।
यता, अर्का ओपनर ब्याट्सम्यान स्यामयल हुसेनले ३२ बलमा २ चौका प्रहार गर्दै १७ रन जोड्दै आउट हुँदा अहमद हसन र अराफत मिनहासले समान ८–८, अजान अबैसले ५, मोहम्मद जिशानले ४ रन जोड्दै पेविलियन फर्किए ।
अमिर हुसेन भने १ रनमा अविजित रहे ।
पाकिस्तानले अतिरिक्त रुपमा १२ रन जोड्यो ।
अफगानिस्तानका लागि खलिल अहमदले १० ओभर बलिङ गर्दै १ मेडन राखेर ५१ रन दिएर ४ विकेट लिँदा बशिर अहमदले १० ओभर बलिङ गर्नेक्रममा १ मेडन राखेर ५२ रन खर्चिएर २ विकेट लिए ।
त्यस्तै, कप्तान नासेर खान र अल्लाह घजन्फरले १–१ विकेट लिए ।