भक्तपुर । नेपालले एसीसी पुरुष यु–१९ प्रिमियर कपअन्तर्गत समूह चरणको पहिलो खेलमा इरानलाई फराकिलो रनअन्तरले पराजित गरेको छ ।

विहिवार मलेसियामा भएको खेलमा नेपालले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी इरानलाई २७४ रनको फराकिलो रनअन्तरले पराजित गरेको हो ।

मलेसियाको बाङ्गीस्थित वाईएसडी युकेएम ओभलमा भएको खेलमा नेपालले प्रस्तुत गरेको ३५४ रनको विशाल विजयी लक्ष्य पछ्याउन जवाफी ब्याटिङमा उत्रिएको इरान ३०.५ ओभरमा अलआउट हुँदा मात्र ७९ रनमा समेतियो ।

इरानका लागि विकेटकिपर अमेर खोर्सान्दले २२ बलमा १ चौका र ५ छक्का प्रहार गर्दै ३७ रन जोडेर पेविलियन फर्किदा सबेर इब्राहिमीपौरले ४३ बलको सामना गर्दा १ चौका प्रहार गर्दै ११ रनमा अविजित रहे ।

इरानका अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कप्तान दादरहमान रेइसी र समान शेखी समान ५–५, हान्जालेहा देराख्शान्देह ४, जैद रेइसी ३, सलिम ताल र अर्शलान शेखी समान २–२ र सलमान नियाज्मण्ड १ रन जोड्दै आउट भए ।

इरानका अन्य दुई ब्याट्सम्यान शुन्य रनमा पेविलियन फर्किए । इरानले अतिरित्तः रुपमा ९ रन जोड्यो ।

इरानलाई सस्तैमा समेत्न नेपालका लागि सुवास भण्डारी र दिपेश कँडेलले समान ३–३ विकेट लिँदा हेमन्त धामी र आकाश चन्दले समान २–२ विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रएको नेपालले ४०.१ ओभरमा अलआउट हुँदै ३५३ रन जोड्यो ।

नेपालका लागि कप्तान देव खनालले ६० बलमा १२ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक १०० रनको शतकिय पारी खेल्दा विकेटकिपर दिपक प्रसाद दुम्रेले ४४ बल खेल्नेक्रममा ८ चौका र २ छक्का प्रहार गर्दै ६९ रनको अर्धशतकिय पारी खेल्दै आउट भए ।

त्यस्तै, दिपक बोहराले ५९ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ६५ रनको अर्धशतकिय इनिङ्स खेल्दै पेविलियन फर्किदा दिपेस कँडेलले २२ बल खेल्दै ३ चौका र १ चौका प्रहार गर्दै २९ रन जोडेर आउट भए ।

यता, हेमन्त धामीले १९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २३ रन जोड्दै आउट हुँदा आकाश चन्दले ११ बलमा ३ चौका प्रहार गर्दै १९ रन जोड्दै पेविलियन फर्किए ।

त्यस्तै, सुवास भण्डारीले १६ बलमा २ चौका प्रहार गर्दै १८ रन जोड्दै अविजित रहँदा आकाश त्रिपाठी ३ र दिपक बोहरा १ रनमा आउट भए ।

अर्जुन कुमाल र मिलन बोहरा शुन्य रनमा पेविलियन फर्किए । नेपालले अतिरिक्त रुपमा २६ रन जोड्यो ।

इरानका लागि दादरहमान रेइसी र सलमान नियाज्मण्डले समान ३–३ विकेट लिँदा जैद रेइसी र समान शेखीले समान २–२ विकेट लिए ।

प्रतियोगिताअन्तर्गत नेपालले असोज २८ गते आईतवार समूह चरणको दोस्रो खेलमा बहराइनसंग खेल्नेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.