भक्तपुर । एसीसी यु–१९ एसिया कपको उद्घाटन खेलमा नेपाल श्रीलंकासंग पराजित भएको छ ।
शुक्रवार भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल टेस्ट राष्ट्र श्रीलंकासंग ५५ रनले पराजित भएको हो ।
नेपाललाई हराएको बलियो टोली श्रीलंकाले समूह ‘बी’ मा महत्वपूर्ण २ अंक जोडेको छ ।
युएईको सारजाहस्थित सारजाह क्रिकेट रंगशालामा भएको खेलमा २३४ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको नेपाल ४६.२ ओभरमा अलआउट हुन पुग्दा मात्र १७८ रनमा समेतियो ।
नेपालका लागि ओपनर ब्याट्सम्यान मयान यादवले ९५ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ६२ रनको अर्धशतकिय पारी खेल्दा अर्का ओपनर आकाश त्रिपाठीले ३३ बल खेल्नेक्रममा ३ चौका प्रहार गरेर १९ रन जोड्दै पेविलियन फर्किए ।
त्यस्तै, विकेटकिपर उत्तम रंगु थापामगरले २९ बल खेल्नेक्रममा १ छक्का प्रहार गर्दै १७ रन जोडेर आउट हुँदा नरेन साउदले २२ बल खेल्नेक्रममा १ चौका प्रहार गर्दै १६ रन जोडेर पेविलियन फर्किए ।
यता, अर्जुन कुमालले २५ बलको सामना गर्दा १२ रन जोडेर आउट हुँदा नरन भट्टले १८ बल खेल्नेक्रममा १ चौका मद्दतमा १२ रन जोडेर पेविलियन फर्कियो ।
सन्तोष यादवले २० बलमा १० रन जोडेर आउट हुँदा रोशन बिश्वकर्मा ५, कप्तान हेमन्त धामी ३ र युवराज खत्री शुन्य रनमा पेविलियन फर्किए ।
युनिश सिंह ३ रनमा अविजित रहे ।
नेपालले अतिरिक्त रुपमा १९ रन जोड्यो ।
नेपाललाई हराउन श्रीलंकाका लागि प्रविन मनिषले ३ विकेट लिँदा कप्तान भिहास थिभमिका, न्युटन रन्जितकुमार र माथुलान कुगाथासले २–२ तथा भिरन चमुदिथाले १ विकेट लिए ।
त्यसअघि टस जितेको नेपालले श्रीलंकालाई पहिला ब्याटिङमा निम्त्यायो ।
श्रीलंकाले निर्धारित ५० ओभर खेल्नेक्रममा अलआउट हुँदै २३३ रन जोड्यो ।
श्रीलंकाका लागि विकेटकिपर शरुजन शानमुगानाथानले ९९ बलमा २ चौका प्रहार गर्दै ६२ रनको अर्धशतकिय पारी खेल्दा लाक्भिन अभेसिंघेले ५३ बल खेल्नेक्रममा २ चौका र १ छक्का प्रहार गर्दै ५० रनको अर्धशतकिय पारी खेले ।
त्यस्तै, कभिजा गामेजले ४४ बलमा ३ चौका प्रहार गर्दै ३७ रन जोडेर रनआउट हुँदा ओपनर ब्याट्सम्यान दुलनिथ सिगेराले ३१ बलमा ४ चौका प्रहार गर्दै २४ रन जोडेर पेविलयन फर्किए ।
यता, भिमाथ दिनसाराले २९ बलमा २ चौका प्रहार गर्दै २४ रन जोडेर आउट हुँदा कप्तान भिहास थिभमिका ३, अर्का ओपनर पुलिन्दु पेरेरा र माथुलान कुगाथास समान २–२ तथा भिरन चमुदिथा शुन्य रनमा पेविलियन फर्किए ।
न्युटन रन्जितकुमार भने ७ रनमा अविजित रहे ।
श्रीलंकाले अतिरिक्त रुपमा २० रन जोड्यो ।
नेपालका लागि सन्तोष यादवले ४ विकेट लिँदा युवराज खत्रीले २ तथा हेमन्त धामी र नरेन साउदले १–१ विकेट लिए ।