भक्तपुर । युरोपेली फुटबलको सर्वाधिक लोकप्रिय प्रतियोगिता युईएफए युरोपियन च्याम्पियनसिप (युरो कप) शुक्रवार रातिदेखि सुरु हुदैछ ।
मिनी विश्वकपका रुपमा समेत चिनिने १७ औं संस्करणको युरो कप जर्मनीमा जुन १४ तारिखदेखि जुलाई १४ तारिखसम्म एक महिना सञ्चालन हुनेछ ।
प्रतियोगिता जर्मनीका बर्लिन, म्युनिख, डर्टमण्ड, स्टुटगार्ड, फ्यांकफ्रुर्ट, हामबर्ग, लाइपिजिङ, गेलसनक्रिचेन, डसेलडर्फ र कोलोन गरि १० सहरमा सञ्चालन हुनेछ ।
युरोपेली फुटबलको शीर्ष निकाय द युनियन अफ युरोपियन फुटबल एसोसियसन्स (युईएफए) ले प्रत्येक चार–चार वर्षको अन्तरालमा आयोजना गर्दै आएको प्रतियोगितामा छनोट चरण पार गरिआएका २४ युरोपेली राष्ट्रले खेल्ने छन् ।
प्रत्येक चार–चार राष्ट्रलाई एक समूह गरि कुल ६ समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा आयोजक राष्ट्र जर्मनीसहित हंगेरी, स्कटल्याण्ड र स्विजरल्याण्ड रहँदा समूह ‘बी’ मा साविक विजेता इटाली, स्पेन, क्रोएसिया र अल्बानिया रहेका छन् ।
त्यस्तै, समूह ‘सी’ मा साविक उपविजेता इंग्ल्याण्डसंगै डेनमार्क, सर्बिया र स्लोभानिया रहँदा समूह ‘डी’ बाट उपाधि दाबेदार फ्रान्ससहित नेडरल्याण्ड्स, पोल्याण्ड र अष्ट्रिया रहेका छन् ।
यता, समूह ‘इ’ मा बेल्जियमसंगै युक्रेन, रोमानिया र स्लोभाकिया रहँदा समूह ‘एफ’ मा क्रिस्चियानो रोनाल्डोको पोर्चुगल चेक रिपब्लिक, टर्की र जर्जिया रहेका छन् ।
फिफा विश्वकपपछि सर्वाधिक हेरिने प्रतियोगिता लिगकम नकआउट प्रणालीका आधारमा सञ्चालन हुनेछ ।
प्रत्येक समूहको विजेता र उपविजेता दोस्रो चरणमा प्रवेश गर्दा समूहको तेस्रो स्थानमा रहने ६ टोलीमध्ये उत्कृष्ट ४ टोलीे पनि नकआउट चरणमा स्थान सुरक्षित गर्नेछ ।
प्रतियोगिताको उद्घाटन खेल आयोजक राष्ट्र जर्मनी र स्कटल्याण्डबीच हुने तालिका रहेको छ ।