एजेन्सी । जर्मनीमा जारी युरोपेली फुटबलको शीर्ष प्रतियोगिता युरो कपअन्तर्गत खेलमा पोर्चुगलले टर्किएमाथि सहज जित हासिल गरेको छ ।
सनिवार राति भएको खेलमा बलियो पोर्चुगलले टर्किएमाथि ३–० को सहज जित हासिल गरेको हो ।
डर्टमण्डस्थित सिग्नल इन्डुना पार्क एरिना रंगशालामा भएको खेलमा पोर्चुगललाई जिताउन बेनार्डो सिल्भा र ब्रुनो फर्नान्डेजले गोल गर्दा अर्को एक गोल टर्किएका समेत अकेदिनको आत्मघातीमार्फत् प्राप्त गर्यो ।
पहिलो हाफको २१ औं मिनेटमा सिल्भाले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि २८ औं मिनेटमा टर्किएका अकेदिनले आत्मघाती गोल गर्न पुग्दा पोर्चुगल २–० ले अघि बढ्यो ।
यता, दोस्रो हाफको ५५ औं मिनेटमा कप्तान क्रिस्चियानो रोनाल्डोको पासमा फर्नान्डेजले गोल थप्दा पोर्चुगल ३–० ले विजयी भयो ।
सहज जितसंगै पोर्चुगलले समूह ‘एफ’ मा २ खेलबाट ६ अंक जोड्दै अन्तिम १६ स्थानमा स्थान पक्का गर्यो ।
पराजित टर्किएको समान २ खेलबाट ३ अंक रहेको छ ।
टर्किएको अघिल्लो चरण प्रवेश गर्ने सम्भावना कायमै रहेको छ ।
त्यस्तै, गयराति नै भएको अर्को युरो कपअन्तर्गत खेलमा बेल्जियमले रोमानियामाथि २–० को जित निकालेको छ ।
कोलोग्नेस्थित कोलोग्ने रंगशालामा भएको खेलमा बेल्जियमलाई जिताउन यौरी टाइलिम्यान्स र केभिन डिब्रुएनाले गोल गरे ।
खेल सुरु भएको दोस्रो मिनेटमै रोमेलु लुकाकुको असिस्टमा टाइलिम्यान्सले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि दोस्रो हाफको ७९ औं मिनेटमा डिब्रुएनाले गोल थप्दा बेल्जियम २–० ले विजयी भयो ।
प्रतियोगितामा दोस्रो खेलमा आएर बेल्जियमले पहिलो जित दर्ता गर्न सफल भयो ।
यसअघि पहिलो खेलमा बेल्जियम स्लोभाकियासंग १–० ले स्तब्ध भएको थियो ।
सहज जितसंगै बेल्जियमले २ खेलबाट ३ अंक जोड्दै समूह ‘इ’ को तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।
यता, पराजित रोमानिया को पनि समान २ खेलमा ३ अंक रहेको छ ।