एजेन्सी । १७ औं संस्करणको युरोपेली फुटबलको शीर्ष प्रतियोगिता युरोपियन फुटबल च्याम्पियनसिप (युरो कप) को उद्घाटन खेलमा जर्मनीले शानदार सुरुवात गरेको छ ।
शुक्रवार राति भएको उद्घाटन खेलमा आयोजक राष्ट्र जर्मनीले स्कटल्याण्डमाथि ५–१ को फराकिलो जित हासिल गर्दै प्रतियोगितामा शानदार सुरुवात गरेको हो ।
जर्मनीको म्युनिखस्थित एलियान्ज एरिना रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन फ्लोलियान विर्ट्ज, जमान मुसियाला, काई हार्भाटेज, निकलास फुलक्रुग र इमरे क्यानले गोल गरे ।
स्कटल्याण्डले भने जर्मनीका एन्टोनियो रुड्रिगरको आत्मघाती गोलमार्फत् सान्तोना गोल फर्कायो ।
खेल सुरु भएको १० औं मिनेटमा जोशुआ किम्मिचको पासमा विर्ट्जले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलायो ।
त्यसपछि १९ औं मिनेटमा हार्भाटेजको पासमा मुसियालाले गोल थप्दै आयोजक टोलीलाई २–० ले अघि बढायो ।
यता, ४४ औं मिनेटमा रायन पोर्टेओसले रोता कार्ड खाँदा स्कटल्याण्ड १० खेलाडीमा समेतियो ।
जसको भरपुर फाइदा जर्मनीले लियो ।
पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा हार्भाटेजले पेनाल्टीमा गोल गर्दै जर्मनलाई ३–० ले अघि बढाए ।
त्यस्तै, दोस्रो हाफको ६८ औं मिनेटमा फुलक्रुगले गोल थप्दा जर्मनी ४–० ले अघि बढ्यो ।
तर, ८७ औं मिनेटमा रुड्रिगरले आत्मघाती गोल गर्दा खेल ४–१ को अवस्थामा आयो ।
खेलको अन्त्यतिर इन्जुरी समयको तेस्रो मिनेटमा थोमस मुलरको असिस्टमा क्यानले गोल गर्दा जर्मनी ५–१ ले विजयी भयो ।
फराकिलो जितसंगै जर्मनीले समूह ‘ए’ मा महत्वपूर्ण ३ अंक जोडेको छ ।