एजेन्सी । युरोपेली फुटबलको शीर्ष प्रतियोगिता युईएफए युरोपियन फुटबल च्याम्पियनसिपको क्वाटरफाइनलका खेलहरु आज (शुक्रवार) रातिदेखि सुरु हुँदैछ ।
मिनि विश्वकपका रुपमा समेत चिनिने युरो कपमा आज राति दुई क्वाटरफाइनल खेलहरु हुँदैछ ।
पहिलो खेलमा घरेलु टोली जर्मनी र स्पेन प्रतिस्पर्धामा उत्रिदैछ भने दोस्रो खेलमा पोर्चुगल र फ्रान्स खेल्ने तालिका रहेको छ ।
जर्मनीविरुद्व स्पेन
जर्मनीको स्टटगार्ड सहरस्थित स्टटगार्ड एरिना रंगशालामा हुने पहिलो क्वाटरफाइनल खेलमा घरेलु टोली जर्मनीले स्पेनसंग खेल्दैछ । जर्मनी र स्पेनलाई जारी युरोको उपाधि दावेदार टोलीका रुपमा हेरिएको छ ।
यसअघि पनि यी दुई टोलीबीच युरोमा तीन पटक प्रतिस्पर्धा भइसकेको छ ।
जसमा स्पेनले सन् १९८४ र २००८ मा गरि दुईपटक जित्दा जर्मनीले १९८८ मा एकपटक जितेको छ ।
युरोमा यी दुई टोलीको अन्तिम भेट सन् २००८ को फाइनलमा भएको थियो ।
जसमा स्पेनले जर्मनीलाई १–० ले पराजित गर्दै उपाधि जितेको थियो ।
त्यस्तै, सन् २०२२ को फिफा विश्वकपमा पनि यी दुई टोली समूह चरणमा खेलेका थिए ।
जुन खेलमा १–१ को बराबरीमा टुंगिएको थियो ।
यी दुई टोलीबीचको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।
नेपाली समयअनुसार राति पौने १० बजे खेल सुरु हुने तालिका रहेको छ ।
पोर्चुगलविरुद्व फ्रान्स
क्रिस्चियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल र केलियन एम्बाप्पेको कप्तानीमा रहेको फ्रान्सबीच पनि आजै राति प्रतिस्पर्धा हुँदैछ ।
प्रतियोगिताअन्तर्गत दोस्रो क्वाटरफाइनल खेलमा बलियो दुई राष्ट्र आमनेसामने हुने भएको हो ।
सम्भवत रोनाल्डोको अन्तिम युरो भएको हुँदा पनि पोर्चुगल जितसहित अघि बढ्ने प्रयासमा हुनेछ ।
यता, रोनाल्डोलाई आइडलका रुपमा मान्ने एम्बाप्पेले पनि कतार विश्वकपको फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको पिडा युरो जितेर भुल्न चाहनाका साथ मैदान ओर्लिने तय छ ।
युरोमा यी दुई टोली अहिलेसम्म चारपटक आमनेसामने भएका छन् ।
जसमा फ्रान्सले सन् १९८४ र २००० मा जित्दा पोर्चुगलले सन् २०१६ मा एकपटक जितेको छ ।
त्यस्तै, पछिल्लो सन् २०२० को युरोमा भने दुबै टोलीले समूह चरणमा २–२ को बराबरी खेलेका थिए ।
फ्रान्सले पछिल्लो १४ भेटमा पोर्चुगलसंगमात्र एक खेल गुमाएको छ ।
जर्मनीको ह्यामबर्गस्थित भोल्क्सपार्कस्टाडिअन रंगशालामा हुने खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
सो खेल नेपाली समयअनुसार मध्य राति पौने एक बजे सुरु हुने तालिका रहेको छ ।