एजेन्सी । युरोपेली क्लब फुटबलको दोस्रो श्रेणीको प्रतियोगिता युईएफए युरोपा लिगअन्तर्गत प्लेअफ खेलमा लिग वान क्लब रेन्नेस सिरी ए क्लब एसी मिलानसंग पराजित भएको छ ।
विहिवार राति भएको प्लेअफअन्तर्गत पहिलो लेग खेलमा फ्रान्सेली क्लब रेन्नेस इटालियन क्लब एसी मिलानसंग ३–० ले पराजित भएको हो ।
इटालियन क्लबको घरेलु मैदान स्टाडियो गिउसेप्पे मियाजा रंगशालामा भएको खेलमा मिलानको जितमा रुवेन लोफ्टुस चिकले दुई गोल गर्दा राफायल लियोले एक गोल थपे ।
खेलको ३२ औं मिनेटमा अलेस्सान्ड्रो फ्लोरेन्जीको असिस्टमा रुवेनले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि दोस्रो हाफको ४७ औं मिनेटमा रुवेनले नै व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा मिलान २–० ले अघि बढ्यो ।
यता, ५२ औं मिनेमा थियो हर्नान्डेजको पासमा राफायल लियोले गोल थप्दा मिलान ३–० ले विजयी भएको छ ।
गयराति नै भएको अन्य खेलहरुमा रोमा र फेयनोर्डले १–१ को बराबरी खेल्दा गालातासारेले स्पार्टामाथि ३–२ को जित निकाल्यो ।
त्यस्तै, साख्टर डोनेटस्क र मर्सेलेले २–२ को बराबरी खेल्दा बिएससी योङ ब्वाइज भने स्पोर्टिङ सिपीसंग ३–१ ले पराजित भयो ।
यता, बेन्फिकाले टौलौसेमाथि २–१ को जित निकाल्दा लेन्स र एससी फेइबर्गले गोलरहित बराबरी खेल्यो ।