एजेन्सी । म्यानचेस्टर युनाइटेडले युरोपेली क्लब फुटबलको दोस्रो श्रेणीको प्रतियोगिता युईएफए युरोपा लिगमा सहज जित निकालेको छ ।
विहिवार राति भएको खेलमा ग्रिक टोली पिएओकेमाथि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले २–० को सहज जित निकालेको हो ।
युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफेड रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन दुबै गोल एमड डियालोले गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५० औं मिनेटमा कप्तान ब्रुनो फर्नान्डेजको पासमा डियालोले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि ७७ औं मिनेटमा डियालोले दोस्रो गोल थप्दा युनाइटेड २–० ले विजयी भयो ।
युरोपामा युनाइटेडको यो पहिलो जित हो ।
यसअघि ३ खेल युनाइटेडले लगातार बराबरी खेलेको थियो ।
महत्वपूर्ण जितसंगै युनाइटेडले ४ खेलबाट ६ अंक जोडेर लिग तालिकाको १५ औं स्थानमा उक्लिएको छ ।
पराजित ग्रिक टोलीको समान ४ खेलमा मात्र १ अंकसहित तालिकाको ३३ औं स्थानमा झरेको छ ।