
एजेन्सी । इंग्लिस क्लब लिभरपूलले युरोपेली क्लब फुटबलको दोस्रो श्रेणीको प्रतियोगिता युईएफए युरोपा लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेग खेलमा फराकिलो अग्रता लिएको छ ।
विहिवार राति भएको खेलमा उपाधि दावेदारका रुपमा रहेको लिभरपूलले चेक रिपब्लिक क्लब स्पार्टामाथि ५–१ को फराकिलो अग्रता लिएको हो ।
स्पार्टाको घरेलु मैदान इपेट एरिना रंगशालामा भएको खेलमा भ्रमणकारी टोलीको जितमा डार्विन नुनेजले दुई गोल गर्दा एलेक्सिस म्याक अलिस्टार, लुइस डाइज र डोमिनिक स्जोबोस्ज्लाईले समान एक–एक गोल गरे ।
घरेलु टोलीका लागि लिभरपूलका कानोर ब्राड्लेले आत्मघाती एक गोल उपहार दिए ।
खेल सुरु भएको छैटौं मिनेटमा म्याक अलिस्टारले पेनाल्टीमार्फत् गोल गर्दै भ्रमणकारी टोलीलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि २५ औं मिनेटमा हार्भे इलियोटको पासमा नुनेजले गोल थप्दा लिभरपूल २–० ले अघि बढ्यो ।
पहिलो हाफको अन्त्यतिर इन्जुरी समयको तेस्रो मिनेटमा म्याक अलिस्टारको पासमा नुनेजले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा रेड्सका रुपमा समेत चिनिने लिभरपूल पहिलो हाफसम्ममा ३–० को आरामदायी अग्रतासहित अघि बढ्यो ।
तर, दोस्रो हाफको सुरुवाती समयतिर ४६ औं मिनेटमा लिभरपूलका ब्राड्लेले आत्मघाती गोल गर्दा खेल ३–१ को अवस्थामा आयो ।
त्यसपछि ५३ औं मिनेटमा इलियोटको पासमा डाइजले गोल थप्दा मर्सिसाइड क्लब ४–१ ले अघि बढ्यो ।
यता, खेलको अन्त्यतिर इन्जुरी समयको चौथौं मिनेटमा इलियोटर्क पासमा स्जोबोस्ज्लाईले गोल थप्दा लिभरपूल ५–१ ले विजयी भयो ।
युरोपा लिगअन्तर्गत नै अन्य खेलहरुमा इंग्लिस क्लब वेस्टह्याम युनाइटेड जर्मन क्लब फ्रेइबर्गसंग १–० ले पराजित हुँदा इटालियन क्लब एसी मिलानले चेक रिपब्लिक क्लब स्लाभियामाथि ३–२ को जित हासिल गर्यो ।
त्यस्तै, फ्रान्सेली क्लब मर्सेलले स्पेनिस क्लब भिल्लारियलमाथि ४–० को फराकिलो जित निकाल्दा पोर्चुगिच क्लब बेन्फिका र स्कटिस क्लब रेन्जर्सले २–२ को बराबरी खेलेका छन् ।
यता, इटालियन क्लब रोमाले इंग्लिस क्लब ब्राइटनमाथि ४–० को फराकिलो जित निकाल्दा जर्मन क्लब बायरलेभरकुसेन भने अजरबैजान क्लब क्वाराबागसंग २–२ को बराबरीमा रोकिएको छ ।