एजेन्सी । युरोपेली फुटबलको दोस्रो श्रेणीको प्रतियोगिता युईएफए युरोपा लिगअन्तर्गत प्रि–क्वाटरफाइनलको पहिलो लेग खेल सम्पन्न भएको छ ।
विहिवार राति युरोपा लिगअन्तर्गत अन्तिम १६ का पहिलो लेग खेल सम्पन्न भएको हो ।
म्यानचेस्टर युनाइटेडविरुद्व रियल बेटिस (४–१)
उपाधि दाबेदारका रुपमा रहेको प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले ला लिगा क्लब रियल बेटिसमाथि सहज जित हात पार्दा युरोपा लिगमा क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
युनाइटेडको घरेलु मैदान ओल्डट्राफेडमा भएको खेलमा युनाइटेडले ४–१ को सहज जित हात पारेको हो ।
युनाइटेडका लागि मार्कुस रासफोर्ड, ब्रुनो फर्नान्डेज एन्टोनी सान्तोष र ओउट वेगहर्स्टले गोल गरेका थिए । स्पेनिस टोलीका लागि एयोजे पेरेजले एक गोल फर्काए ।
जितसंगै इंग्लिस क्लब युनाइटेडले पहिलो लेग खेलमा ३ गोलको अग्रता लिएको छ ।
युभेन्टसविरुद्व एससी फ्रेइबर्ग (१–०)
अर्को उपाधि दाबेदारका रुपमा मानिएको सिरी ए क्लब युभेन्टसले बुडेसलिगा क्लब एससी फ्रेइबर्गमाथि १–० को जित निकाल्दै क्वाटरफाइनल पुगने सम्भावना बलियो बनाएको छ ।
एलियान्ज रंगशालामा भएको खेलमा इटालियन क्लबले जर्मन क्लबमाथि निरन्तर दवाव सिर्जना गरेतापनि एक गोलमात्र गर्न सक्यो । युभेन्टसका लागि एन्जेल डी मारियाले गोल गरेका थिए ।
क्वाटरफाइनल पुग्नका लागि युभेन्टसका लागि अन्तिम १६ अन्तर्गतको दोस्रो लेग खेलमा बराबरी नै पर्याप्त हुनेछ ।
स्पोर्टिङ सिपीविरुद्व आर्सनल (२–२)
युरोपा लिगको अर्को दाबेदार प्रिमियर लिग क्लब आर्सनल लिगा पोर्चुगल टोली स्पोर्टिङ सिपीसंग २–२ गोलको बराबरीमा रोकिएको छ ।
पोर्चुगिच क्लबको घरेलु मैदान इस्टाडियो जोजे अल्भालाडे रंगशालामा भएको खेलमा आर्सनलका लागि विलियम सालिबाले एक गोल गर्दा अर्को गोल आत्मघाती उपहार पाएको थियो । घरेलु टोलीका लागि भने गोन्जालो इनासियो र पाउलिन्होले एक–एक गोल गरे ।
प्रतियोगिताको अघिल्लो चरण प्रवेश गर्ने टोलीको टुंगो दोस्रो लेग खेलले लगाउने भएको छ ।
रोमाविरुद्व रियल सोसिडाड (२–०)
सिरी ए क्लब रोमाले ला लिगा क्लब रियल सोसिडाडमाथि २–० को जित निकाल्दै क्वाटरफाइनल प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ ।
इटालियन क्लबको मैदान ओलिम्पिको रंगशालामा भएको खेलमा घरेलु टोलीका लागि स्टेफन एल शारवे र मार्सहा कुम्बुल्लाहले गोल गरेका थिए ।
महत्वपूर्ण जितसंगै जोसे माउरिन्होको नेतृत्वमा रहेको क्लबले २ गोलको अग्रता लिएको छ ।
एफसी युनियन बर्लिनविरुद्व आर. युनियन एसजी (३–३)
बुडेसलिगा क्लब एफसी युनियन बर्लिन जुपिटर प्रो लिग क्लब आर. युनियन एसजीसंग ३–३ गोलको बराबरीमा रोकेको छ ।
जर्मन क्लब एफसी युनियन बर्लिनको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीका लागि जोसेप जुरानोभिक, रोविन नोचे र स्भेन माइकलले गोल गर्दा बेल्जियम क्लबका लागि भिक्टर बोनिफेसले दुई तथा योब्रे भेरटेनेसले एक गोल गरे ।
घरेलु टोली युनियन बर्लिनका रोविनले पेनाल्टी प्रहार मिस गर्न पुगेका थिए ।
बायर लेभरकुसेनविरुद्व फेरेनभारोस (२–०)
बुडेसलिगा क्लब बायर लेभरकुसेनले हगेरियन क्लब फेरेनभारोसलाई २–० ले पराजित गर्दै अघिल्लो चरण प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ ।
जर्मन क्लबको घरेलु मैदान बाय एरिना रंगशालामा भएको खेलमा घरेलु टोलीका लागि करिम देम्रिबे र एडेमोन्ड तापसोबाले गोल गरेका थिए ।
सेभिल्लाविरुद्व फेनेरबाच (२–०)
ला लिगा क्लब सेभिल्लाले टर्किस क्लब फेनेरबाचमाथि २–० को जित निकाल्दै युरोपा लिगको अघिल्लो चरण प्रवेश गर्ने सम्भाबना बलियो बनाएको छ ।
स्पेनिस क्लबका लागि जोन जोर्डन र इरिक लामेलाले गोल गरेका थिए ।
साख्टर दोनेटस्कविरुद्व फेयनोर्ड (१–१)
युक्रेनी क्लब साख्टर दोनेटस्क र डच क्लब फेयनोर्डले युरोपा लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेग खेलमा १–१ को बराबरी खेलेका छन् ।
साख्टरको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीका लागि यारोस्लाभ शभेदले गोल गर्दा भ्रमणकारी टोलीका लागि इजेक्विल बुलाउदेले गोल गरे ।
युरोपा लिगअन्तर्गत अन्तिम १६ को दोस्रो लेग खेल चैत्र २ गते विहिवार राति हुनेछ ।