एजेन्सी । टोटनहम हटस्परले युरोपेली फुटबलको दोस्रो श्रेणीको प्रतियोगिता युईएफए युरोपा लिगमा विजयी सुरुवात गरेको छ ।
विहिवार राति भएको सिजनको पहिलो खेलमा इंग्लिस क्लब टोटनहम हटस्परले अजरबैजान क्लब क्वाराबागमाथि ३–० को स्पष्ट जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
स्पर्सका रुपमा समेत चिनिने टोटनहमको घरेलु मैदान टोटनहम हटस्पर रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन ब्रेनान जोनसन, पेपे माटर सर र डोमिनिक सोलान्केले गोल गरे ।
उसो त खेल सुरु भएको सातौं मिनेटमा राडु ड्रागुसिनले रातो कार्ड पाउँदा टोटनहम १० खेलाडीमा समेतिन पुग्यो ।
तर, १२ औं मिनेटमा सोलान्केको पासमा जोनसनले गोल गर्दा घरेलु टोलीले सुरुवाती अग्रता लियो ।
त्यसपछि ५२ औं मिनेटमा सरको गोलमार्फत् स्पर्सले खेलमा २–० को अग्रता कायम गर्यो ।
यता, ६८ औं मिनेटमा सोलान्केले गोल थप्दा टोटनहम ३–० ले विजयी भयो ।
सहज जितसंगै टोटनहमले लिग तालिकामा महत्वपूर्ण तीन अंक जोडेको छ ।