एजेन्सी । टोटनहम हटस्परलाई युईएफए युरोपा लिगमा गालाटासारेले हराएको छ ।
विहिवार राति भएको खेलमा इंग्लिस क्लब टोटनहम हटस्परलाई टर्किस क्लब गालाटासारेले ३–२ ले हराएको हो ।
टर्किस क्लबको घरेलु मैदान राम्स पार्क रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन भिक्टर ओसमानले दुई गोल गर्दा युनुस अक्गुनले एक गोल गरे ।
यता पराजित इंग्लिस क्लबका लागि भने विल लान्कशेर र डोमिनिक सोलान्केले गोल फर्काए ।
खेल सुरु भएको छैटौं मिनेटमा युनुसले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलायो ।
तर, १८ औं मिनेटमा ब्रेनान जोनसनको पासमा लान्कशेरले भ्रमणकारी टोलीका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
त्यस्तै, ३१ औं मिनेटमा ड्रियस मेर्टिन्सको पासमा ओसमानले गोल गर्दा गालाटासारे २–१ ले अघि बढ्यो ।
यता, ३९ औं मिनेटमा मेर्टिन्सकै पासमा ओसमानले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा टर्किस क्लब ३–१ ले अघि बढ्यो ।
दोस्रो हाफको ६० औं मिनेटमा लान्कशेरले दोहोरो पँहेलोसंगै रातो कार्ड खाँदा स्पर्स १० खेलाडीमा समेतियो ।
तर, ६९ औं मिनेटमा पेड्रो पोरोको पासमा सोलान्केले स्पर्सका लागि गोल फकाउँदा खेल ३–२ को अवस्थामा आयो ।
त्यसपछि खेलमा थप गोल निस्किएन र टर्किस क्लब विजयी भयो ।
जितसंगै टर्किस क्लबले ४ खेलबाट १० अंक जोडेर लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
पराजित टोटनहमको भने समान ४ खेलमा ९ अंकसहित तालिकाको सातौं स्थानमा झरेको छ ।