
एजेन्सी । सिरी ए प्रतिद्वन्दी फ्रोसिननमाथि फराकिलो जित हासिल गर्दै युभेन्टस कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ ।
विहिवार राति भएको क्वाटरफाइनल खेलमा फ्रोसिननमाथि ४–० को फराकिलो जित हासिल गर्दै युभेन्टस इटालियन प्रतिष्ठित प्रतिायोगिता कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको हो ।
टुरिनस्थित एलियान्ज रंगशालामा भएको खेलमा घरेलु टोली युभेन्टसको जितमा एरिक मिलिकले ह्याट्रिक प्रहार गर्दा केनान यील्डिजले अर्को एक गोल थपे ।
खेल सुरु भएको ११ औं मिनेटमा मिलिकले पेनाल्टीमार्फत गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि ३८ औं मिनेटमा वेस्टन म्याककेन्नेइको पासमा मिलिकले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा युभेन्टस २–० ले अघि बढ्यो ।
यता, दोस्रो हाफको ४८ औं मिनेटमा म्यानुयल लोकाटेलीको पासमा मिलिकले ह्याट्रिक पूरा गर्दा युभेन्टस ३–० ले अघि बढ्यो ।
त्यस्तै, ६१ औं मिनेटमा म्याककेन्नेइकै पासमा केनानले गोल थप्दा युभेन्टस ४–० को फराकिलो गोलअन्तरले विजयी भयो ।
अब युभेन्टसले सेमिफाइनलमा लाजिओसंग प्रतिस्पर्धा गर्ने भएको छ ।