एजेन्सी । इएफएल कपअन्तर्गत दोस्रो लिग खेलमा नटिङघम फोरेस्टलाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड इएफएल कपको फाइनलमा प्रवेश गरेको छ ।
बुधवार राति युनाइटेडको घरेलु मैदान ओल्डट्राफेडमा भएको खेलमा युनाइटेडले नटिङघम फोरेस्टलाई २–० ले पराजित गर्दै समग्रमा ५–० ले जित हात पारेको हो ।
यसअघि काराबाओ कपका रुपमा समेत चिनिदै आएको प्रतियोगिताअन्तर्गत समिफाइनलको पहिलो लेग खेलमा युनाइटेड ३–० ले विजयी रहेको थियो । पहिलो लेग खेल फोरेस्टको घरेलु मैदानमा भएको थियो ।
गयराति युनाइटेड र फोरेस्टले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो । दोस्रो हाफको ७३ औं मिनेटमा एन्टोनी मार्सियलले गोल गर्दै घरेलु टोलीलाई खेलमा १–० ले अघि बढाए ।
त्यसको ३ मिनेटपछि ७६ औं मिनेटमा मार्कुस रासफोर्डको पासमा फ्रेडले गोल गर्दै खेल युनाइटेडले २–० ले जित्यो ।
अब काराबाओ कपको फाइनल खेलमा युनाइटेडले न्युक्यासलसंग उपाधिका लागि वेम्बली रंगशालामा फ्रेबअरी २६ तारिखमा प्रतिस्पर्धा गर्नेछ ।