एजेन्सी । प्रिमियर लिग क्लबद्वय म्यानचेस्टर युनाइटेड र न्युक्यासल युनाइटेडले इंग्लिस घरेलु प्रतियोगिता इएफएल कपको सेमिफाइनलमा स्थान बनाएको छ ।
मंगलवार राति म्यानचेस्टर युनाइटेडले लिग वान क्लब चार्लटनमाथि ३–० को जित निकाल्दै लिग कपको अन्तिम चारको स्थान सुरक्षित गरेको हो ।
ओल्डट्राफेडमाा भएको खेलमा युनाइटेडले ३–० को सहज जित हात पारेको हो । घरेलु टोलीको जितमा मार्कुस रासफोर्डले २ तथा एन्टोनीले १ गोल गरेका थिए ।
घरेलु टोलीले खेलको २१ औं मिनेटमा एन्टोनीको गोलमार्फत सुरुवाती अग्रता लिएको थियो । फ्रेडको पासमा एन्टोनीले आकर्षक गोल गर्दा युनाइटड पहिलो हाफमा १–० ले अघि रहेको थियो ।
त्यसपछि दोस्रो हाफमा परिर्वतित खेलाडीका रुपमा मैदान प्रवेश गरेका रासफोर्डले खेलको अन्त्यतिर २ गोल गरेको थियो ।
९० औं मिनेटमा युवा खेलाडी फाकुन्दो पिलिश्रीको पासमा रासफोर्डले गोल गर्दा खेल २–० को अवस्थामा पुगेको थियो ।
यता, खेलको ९४ औं मिनेटमा क्यासिमेरोको पासमा व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा युनाइटेडले खेल सहज रुपमा ३–० ले जित्यो ।
लिग वान क्लबविरुद्वको प्राप्त सफलता रेड डेभिल्सका रुपमा चिनिने युनाइटेडको पछिल्लो लगातार ८ औं जित समेत हो ।
त्यस्तै, गयराति नै सम्पन्न कारावाओ कपका रुपमा समेत चिनिने इएफएल कपको अर्को क्वाटरफाइनल खेलमा न्युक्यासल युनाइटेडले लेस्टरसिटीमाथि जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको छ ।
प्रिमियर लिग क्लबद्वयको भिडन्तमा जारी सिजन राम्रो लयमा रहेको न्युक्यासलले लेस्टरमाथि २–० को सहज जित निकालेको हो ।
न्युक्यासलको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकेको थियो । तर, दोस्रो हाफको ६० औं मिनेटमा ड्यानियल बुर्नले गोल गर्दै घरेलु टोलीलाई १–० ले अघि बढाएको थियो ।
यता ७२ औं मिनेटमा जोइलिन्टनले गोल गर्दा घरेलु न्युक्यासल २–० ले विजयी रह्यो । लिग कपअन्तर्गत बुधवार राति पनि दुई क्वाटरफाइनलका खेल हुनेछन् ।