
एजेन्सी । म्यानचेस्टर युनाइटेड इंग्लिस प्रतिष्ठित प्रतियोगिता एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधवार राति भएको खेलमा साविक उपविजेता समेत रहेको म्यानचेस्टर युनाइटेडले प्रिमियर लिग प्रतिद्वन्दी नटिङघम फोरेस्टलाई १–० को पराजित गर्दै इंग्लिस लोकप्रिय प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
फोरेस्टको घरेलु मैदान द सिटी ग्राउन्ड स्टेडियममा भएको खेलमा युनाइटेडलाई जिताउन क्यासिमेरोले निर्णायक गोल गरे ।
निर्धारित समयमा बराबरी उन्मुख खेलको अन्तिम समयतिर ८९ औं मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा क्यासिमेरोले हेडमार्फत् गोल गर्दै युनाइटेडलाई १–० ले विजयी दिलाए ।
पराजयसंगै फोरेस्ट भने प्रतियोगिताबाट बाहिरिएको छ ।
बुधवार राति नै भएको एफए कपअन्तर्गत अर्को खेलमा लिड्स युनाइटेडमाथि ३–२ को प्रतिस्पर्धात्मक जित निकाल्दै चेल्सी पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिज रंगशालामा भएको खेलमा सुरुवाती अग्रता भने भ्रमणकारी टोलीले लियो ।
खेल सुरु भएको ८ औं मिनेटमा जाइदन एन्टोनीको पासमा माटेओ जोसेफले गोल गर्दै लिड्सलाई सुरुवाती अग्रता दिलाए ।
तर, १५ औं मिनेटमा चेल्सीका लागि मोइसिस काइसेडोको पासमा निकोलास ज्याक्सनले गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
त्यस्तै, ३७ औं मिनेटमा रहिम स्टर्लिङको पासमा म्याखाइलो मुड¥याकले गोल गर्दा घरेलु टोली २–१ ले अघि बढ्यो ।
यता, दोस्रो हाफको ५९ औं मिनेटमा भ्रमणकारी टोलीका लागि एन्टोनीकै पासमा जोसेपले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा खेल २–२ को बराबरीमा आयो ।
त्यसपछि खेलको अन्त्यतिर ९० औं मिनेटमा इन्जो फर्नान्डेजको पासमा कोनर गालाघरले गोल गर्दा चेल्सी ३–२ ले विजयी भयो ।
पराजयसंगै लिड्स भने प्रतियोगिताबाट बाहिरिएको छ ।