एजेन्सी । प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड इंग्लिस फुटबलको नकआउट प्रतियोगिता कारावाओ (इएफएल) कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधवार राति भएको खेलमा युनाइटेडले बर्नलीमाथि २–० को जित हात पार्दै अन्तिम ८ को स्थान पक्का गरेको हो ।
ओल्डट्राफेडमा खेलको २७ औं मिनेटमा क्रिस्टियन इरेक्सनको गोलमार्फत युनाइटेड अघि बढेको थियो ।
इरेक्सनले आरोन वान विसाखाको उत्कृष्ट पासमा सहज गोल गर्दै खेलमा युनाइटेडलाई १–० ले अघि बढाएका थिए ।
दोस्रो हाफको ५७ औं मिनेटमा मार्कुस रासफोर्डले व्यक्तिगत प्रयासमा सुन्दर गोल गर्दा खेल युनाइटेडले २–० ले जित्यो ।
गयराति नै सम्पन्न अन्य खेलहरुमा नटिङघम फोरेस्टले ब्ल्याकबर्न रोभरर्समाथि ४–१ को जित निकाल्दा ब्राइटनले पनि चार्लिटनमाथि पेनाल्टी सुटआउटमा ४–३ को जित निकाल्यो ।
यसअघि यी दुई टिमको खेल निर्धारित समयमा गोलरहित सकेको थियो ।
जितसंगै फोरेस्ट र ब्राइटन पनि अन्तिम ८ मा प्रवेश गरेको छ ।