एजेन्सी । द च्याम्पियनसिप क्लब रिडिङमाथि सहज जित हात पार्दै प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड एफए कपको पाँचौं चरणमा प्रवेश गरेको छ ।
सनिवार राति भएको खेलमा बलियो म्यानचेस्टर युनाइटेडले रिडिङमाथि ३–१ को सहज जित हात पारेको हो ।
युनाइटेडको जितमा क्यासिमेरोले २ गोल गर्दा फ्रेडको नाममा १ गोल रह्यो । यता, भ्रमणकारी टोलीका लागि अमाडौ एमबेन्गुइले एक गोल फर्काए ।
ओल्डट्राफेडमा खेलको ३५ औं मिनेटमा मार्कुस रासफोर्डले गरे तापनि भिएआरले अफसाइड लिँदा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
दोस्रो हाफको ५४ औं मिनेटमा एन्टोनीको पासमा क्यासिमेरोले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
५८ औं मिनेटमा क्यासिमेरोले डिबक्स बाहिरबाट गरेको प्रहार सोझै गोलमा परिणत हुँदा युनाइटेड २–० ले अघि बढेयो ।
६५ औं मिनेटमा रिडिङ १० खेलाडीमा समेतियो । आन्डे कोलले युनाइटेडका खेलाडीमाथि फाउल गरेपछि रेफीले दोहोरो पहेलो कार्ड देखाएका थिए ।
लगत्तै ६६ औं मिनेटमा ब्रुनो फर्नान्डेजको असिस्टमा फ्रेडले गोल गर्दा युनाइटेडले खेलमा ३–० को सहज अग्रता बनायो ।
७२ औं मिनेटमा एमबेन्गुइले रिडिङका लागि सान्तोना गोल फर्काए ।
जितसंगै युनाइटेड इंग्लिस फुटबलको प्रतिष्ठित प्रतियोगिताको पाँचौ चरणमा प्रवेश गरेको छ ।
गयराति नै भएको एफए कपअन्तर्गत अन्य खेलहरुमा टोटनहमले प्रिस्टनमाथि ३–० को जित हात पार्दा फुलहम सन्डरल्याण्डसंग १–१ को बराबरीमा रोकियो ।
लेस्टरसिटीले वालसालमाथि १–० को जित रच्दा लिड्स युनाइटेडले पनि एसरिङ्टनमाथि ३–१ को जित हात पार्यो ।
यता, बर्नली र आएपिसविच गोलरहित बराबरीमा रोकिँदा साउथह्याम्टनले ब्ल्याकपुलमाथि २–१ को जित निकाल्यो ।
विस्टोल सिटीले वेस्ट ब्रोमिचलाई ३–० ले हराउँदा ब्ल्याकब्रुन रोभर्स र बर्गिङघम सिटी २–२ को बराबरीमा रोकिँए ।
त्यस्तै, सेफिल्ड वेनेस्डे र फिल्टउड १–१ गोलको बराबरीमा रोकिँदा लुटन र ग्रिम्बेले पनि २–२ को बराबरी खेले ।