एजेन्सी । प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले पुनरागमन जित रच्दै एफए कपको क्वाटरफाइनल यात्रा तय गरेको छ ।
बुधवार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले वेस्टह्याम युनाइटेडमाथि पुनरनगमन ३–१ को जित रच्यो ।
युनाइटेडको घरेलु मैदान ओल्डट्रफेडमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
दोस्रो हाफको ५४ औं मिनेटमा भ्रमणकारी टोलीका सैद बेनराम्हाले गोल गर्दै वेस्टह्यामलाई खेलमा १–० ले अघि बढाएका थिए ।
त्यसपछि खेलको ७७ औं मिनेटमा युनाइटेडले आत्मघाती गोलमार्फत खेल १–१ को बराबरी गर्यो । वेस्टह्यामका नायफ अग्वेर्डले आफ्नै पोस्टमा बल छिराएसंगै घरेलु टोली खेलमा फर्कियो ।
त्यसअघि ७२ औं मिनेटमा क्यासिमेरोले गरेको गोल भिएआरले अफसाईड लिँदै मान्यता दिएको थिएन ।
यता, ९० औं मिनेटमा किशोर खेलाडी अलेक्जान्ड्रो ग्रानाचोले गोल गर्दै घरेलु टोलीलाई खेलमा सनसनी रुपमा अघि बढायो ।
त्यसपछि निर्धारित ९० मिनेटको खेलपछि थपिएको ५ मिनेटको अतिरिक्त समयको अन्तिम समयमा ओउट वेगहर्सको असिस्टमा फ्रेडले गोल गर्दा खेल युनाइटेडले ३–१ ले जित्यो ।
जितसंगै युनाइटेड इंग्लिस फुटबलको प्रतिष्ठित नकआउट प्रतियोगिताको अन्तिम ८ प्रवेश गर्दा वेस्टह्याम भने प्रतियोगिताबाट बाहिरिएको छ ।
मंगलवार राति नै भएको एफए कपअन्तर्गत अन्य खेलमा प्रिमियर लिग क्लब टोटनहम हटस्पर च्याम्पियनसिप क्लब सेफिल्ड युनाइटेडसंग १–० ले स्तब्ध हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
सेफिल्डको घरेलु मैदान ब्रामल लेन रंगशालामा भएको खेलमा ७९ औं मिनेटमा सेफिल्डका इलाइमन एनदायीले एकमात्र निर्णायक गोल गर्दा भ्रमणकारी टोली टोटनहम स्तब्ध बनेको हो ।
त्यस्तै, लिग टु क्लब ग्रिम्सवेले प्रिमियर लिग क्लब साउथह्याम्टनमाथि २–१ को जित हात पार्दा च्याम्पियनसिप क्लब बर्नलीले लिग वान क्लब फ्लिटउडमाथि १–० को जित निकाल्दै क्वाटरफाइनलको स्थान पक्का गरेको छ ।