एजेन्सी । इंग्लिस प्रिमियर लिगमा १० खेलाडीमा समेतिएको म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसमाथि संघर्षपूर्ण जित हात पारेको छ ।
सनिवार भएको खेलमा म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसमाथि संघर्षपूर्ण २–१ को जित हात पारेको हो ।
युनाइटेडको जितमा ब्रुनो फर्नान्डेज र मार्कुस रासफोर्डले गोल गर्दा प्यालेसका लागि जेफ्रे स्चलुपले एक गोल फर्काए ।
ओल्डट्राफेडमा भएको खेलमा युनाइटेडका लागि फर्नान्डेजले सातौं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै १–० को अग्रता दिलाएका थिए ।
रासफोर्डले डिबक्स एरियाभित्र क्रस गरेको बल प्यालेसका खेलाडीको हातमा बल लागेपछि भिएआरको सहायतामा रेफ्रीले युनाइटेडलाई पेनाल्टीको मौका दिएको थियो । जसमा फर्नान्डेज चुकेनन् ।
पहिलो हाफ १–० ले अघि रहेको युनाइटेडले दोस्रो हाफको ६२ औं मिनेटमा रासफोर्डको गोलमार्फत अग्रता दोब्बर पारेको थियो ।
यता, खेलको ६७ औं मिनेटमा युनाइटेड र प्यालेसका खेलाडीहरुबीच तनाब सिर्जना हुँदा क्यासिमेरोले रेड कार्ड पाउँदै मैदान छोड्न पर्यो ।
१० खेलाडीमा समेतिएको युनाइटेडमाथि प्यालेसले दबाब बढाउँदै ७६ औं मिनेटमा स्चलुपले गोल गर्दै खेल २–१ मा ल्याएका थिए ।
त्यसपछि निक्कै नै रोमाञ्चक बनेको खेलमा थप गोल भने निस्किएन र खेल युनाईटेडले जित्यो ।
प्यालेसमाथि कठिन जित हात पारेको युनाइटेडले २१ खेलमा ४२ अंक जोड्दै लिग तालिकाको तेस्रो स्थानमा उक्लियो ।
पराजित भ्रमणकारी टोलीको २१ खेलमा २४ अंक छ । प्यालेस तालिकाको १२ औं स्थानमा छ ।
यता, सनिवार नै मोलिनियोक्स रंगशालामा भएको खेलमा लिभरपूल घरेलु टोली उल्भ्ससंग ३–० ले स्तब्ध बनेको छ ।
उल्भ्सका लागि क्राइग दाउसन र रुविन नाभेसले गोल गर्दा अर्को एक गोल लिभरपूलका जोइल माटिपको आत्मघाती रह्यो ।
जारी सिजन खराब लयबाट गुज्रिरहेको मर्सिसाइड क्लबको २० खेलमा २९ अंक छ । लिभरपूल लिग तालिकाको १० औं स्थानमा रहेको छ ।
यता, उल्भ्सले लिभरपूलसंग महत्वपूर्ण ३ अंक खोस्दै २१ खेलमा २० अंक बनाउँदै तालिकाको १५ औं स्थानमा उक्लिएको छ ।
सोहि समयमा भएको अन्य खेलमा ब्राइटनले बर्नमाउथमाथि १–० को जित हात पार्दा ब्रेन्टफोर्डले पनि साउथह्याम्टनमाथि ३–० को जित हात पार्यो । यता, लेस्टरसिटीले पनि एस्टनभिल्लामाथि ४–२ को जित हात पार्यो ।