एजेन्सी । दक्षिण अफ्रिकामा जारी आईसीसी यु–१९ क्रिकेट विश्वकपअन्तर्गत खेलमा भारतले संयुक्त राज्य अमेरिका (युएसए) माथि फराकिलो जित निकालेको छ ।
आईतवार भएको समूह चरणको २३ औं खेलमा साविक विजेता भारतले एसोसियट राष्ट्र युएसएमाथि २०१ रनको फराकिलो जित निकालेको हो ।
फराकिलो जितसंगै भारतले समूह चरणमा शतप्रतिशत जित हासिल गर्दै ६ अंक जोडेर समूह ‘ए’ को समूह विजेता बन्यो ।
युएसए भने समूह चरणको ३ वटै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
समूह ‘ए’ बाट भारतसंगै बंगलादेश र आयरल्याण्ड सुपर ६ मा प्रवेश गर्यो ।
मनगाउङ ओभल रंगशालामा भएको खेलमा ३२७ रनको विशाल विजयी लक्ष्य पछ्याउन जवाफी ब्याटिङमा उत्रिएको युएसए निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १२५ रनमा समेतियो ।
युएसएका लागि उत्कर्ष श्रीवास्तबले ७३ बलमा ४ चौका प्रहार गर्दै ४० रन जोड्दा विकेटकिपर अमोग रेड्डी अरेपाल्लीले ७१ बल खेल्दै २ चौका प्रहार गरेर २७ रन जोड्दै अविजित रहे ।
त्यस्तै, आरिन सुशिल नाडकार्नीले ४४ बलमा २ छक्का प्रहार गर्दै २० रन जोडेर आउट हुँदा सिद्धार्थ काप्पले ६० बलको सामना गर्दा २ चौका प्रहार गरेर १८ रन जोड्यो ।
कप्तान ऋषी रमेश ८, प्रणब चेटिपालायाम र पर्थ पट्टेल समान २–२ रनमा आउट हुँदा अन्य दुई ब्याटर शुन्य रनमा पेविलियन फर्किए ।
यता, अतेन्द्र सुब्रमनियम ३ रनमा अविजित रहे ।
युएसएले अतिरिक्त रुपमा ५ रन जोड्यो ।
भारतका लागि नमन तिवारीले ४ विकेट लिँदा राज लिम्बानी, सौम्य कुमार पाण्डे, मुरुगन पेरुमाल अभिषेक र प्रियान्शु मोलियाले समान १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको भारतले निर्धारित ५० ओभरको खेलमा ५ विकेट गुमाउँदै ३२६ रन जोड्यो ।
भारतका लागि आर्शिन कुलकर्नीले ११८ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक १०८ रनको शतकिय पारी खेल्दा मुशिर खानले ७६ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ७३ रनको अर्धशतकिय पारी खेले ।
त्यस्तै, कप्तान उदय साहारनले २७ बलमा १ चौका र २ छक्का प्रहार गर्दै ३५ रन जोड्दै आउट हुँदा प्रियान्शु मोलियाले १९ बल खेल्दै २ चौका प्रहार गरेर २७ रन जोड्दै अविजित रहे ।
यता, ओपनर ब्याट्सम्यान आर्दश सिंहले ३७ बलमा ४ चौका प्रहार गर्दै २५ रन जोड्दै आउट हुँदा सचिन दासले १६ बलमा १ छक्का प्रहार गर्दै २० रन जोडेर पेविलियन फर्किए ।
विकेटकिपर अराभेली अभिनाश रावले ७ बलमा १ छक्का प्रहार गर्दै १२ रन जोडेर अविजित रहे ।
भारतले अतिरिक्त रुपमा २६ रन जोड्यो ।
युएसएका लागि अतेन्द्र सुब्रमनियमले २ विकेट लिँदा कप्तान ऋषी रमेश, आरिन सुशिल नाडकार्नी र आर्या गार्गले समान १–१ विकेट लिए ।