
भक्तपुर । काठमाडौंमा जारी आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) माथि १७७ रनको फराकिलो जित निकाल्दै चार वर्षका लागि एकदिवसीय अन्तराष्ट्रिय (ओडिआई) मान्यता जोगाएको छ ।
आइतवार भएको खेलमा नेपालले युएईलाई २२.५ ओभरमा अलआउट गर्दै मात्र ७१ रनमा रोक्दै महत्पवूर्ण जित हात पारेको हो ।
जितसंगै नेपालको ३४ खेलमा ३६ अंक भएको छ । नेपाल तालिकाको चौथौं स्थानमा उक्लिदै एकदिवसीय अन्तराष्ट्रिय (ओडिआई) मान्यता जोगाउन सफल भएको हो । योसंगै नेपाल सन् २०२७ सम्मका लागि ओडिआई राष्ट्र हुने पक्का भएको छ ।
हारसंगै युएईको ओडिआई मान्यता भने संकटमा परेको छ । युएईको ३४ खेलमा ३१ अंक छ । र तालिकामा छैटौं स्थानमा झरेको छ ।
क्रितिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा युएईका लागि आयान अफजल खानले ३३ बलमा २ चौका र २ छक्का प्रहार गर्दै २९ रन जोड्दा विकेटकिपर अस्वान्त भसलथापाले २२ बल खेल्दै १ चौका प्रहार गर्दै १४ रन बनाउँदै आउट भए ।
पालानियापन मेइयाप्पन ११ बलमा २ चौका मद्दतमा १५ रनमा अविजित रहँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
आसिफ खान र रोहन मुस्ताफा समान ६, जावेर फरिद २, कप्तान मुहम्मद वासिम र जुनाइद सिद्विक्यु १–१ रनमा आउट भए । युएईले १ रन अतिरिक्त रुपमा जोड्यो ।
नेपालका लागि ललित राजवंशीले ७.५ ओभर बलिङ गर्दै २ मेदन राख्दै मात्र २० रन खर्चिएर सर्वाधिक ५ विकेट लिए ।
त्यस्तै, सन्दिप लामिछानेले ४ ओभर बलिङ गर्ने क्रममा १४ रन दिएर २ विकेट लिँदा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र गुलशन झाले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको नेपालले ४९.२ ओभरमा अलआउट हुँदै २४८ रन बनायो ।
ज्ञानेन्द्र मल्ल र करण केसीलाई बेन्चमा राख्दै सुरुवाती ११ मा ललित राजवंशी र गुल्शन झालाई मौका दिइएको खेलमा नेपालका लागि कप्तान रोहित पौडेलले ११२ बल खेल्दै ९ चौका मद्दतमा सर्वाधिक ७७ रनको अर्धशतकिय पारी खेले ।
आरिफ शेखले ५२ बलमा ५ चौका प्रहार गर्दै ४३ रन जोड्दा दिपेन्द्र सिंह ऐरीले १९ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३४ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, गुलशन झाले ३२ बल खेल्दा १ चौका र ३ छक्का प्रहार गर्दै ३७ रन बनाउँदा भिम सार्कीले ३७ बलको सामना गर्दै ४ चौका मद्दतमा २९ रन जोडे ।
नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । कुशल मल्ल ९, कुशल भुर्तेल ८, सन्दिप लामिछाने र सोमपाल कामी समान २ रन जोड्दै पेविलियन फर्किदा विकेटकिपर आसिफ शेख शुन्य रनमा पेविलियन फर्किए ।
नेपालले अतिरिक्त रुपमा ७ रन जोडेको थियो ।
युएईका लागि आयार्न अफजल खान, जाहोर खान, रोहन मुस्ताफा र जावर फरिदले समान २–२ विकेट हात पार्दा आर्यान लार्का र जुनाइद सिद्विक्युले १–१ विकेट लिए ।