भक्तपुर । काठमाडौंमा जारी आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत पपुवा न्युगिनीले युएईमाथि ५६ रनको जित हात पारेको छ ।
शुक्रवार भएको खेलमा २४७ रनको विजयी लक्ष्य पछ्याएको युएई ४२.२ ओभरमा अलआउट हुँदै १९० रनमा समेतिएसंगै पपुवा न्युगिनी (पिएनजी) ५६ रनले विजयी भएको हो ।
क्रितिपुरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा युएईका लागि आर्यान लार्काले ७२ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ५१ रन जोडे ।
त्यस्तै, कप्तान मोहम्मद वासिमले २७ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ४१ रन बनाउँदा जावेर फरिदले २६ बलमा २ चौका प्रहार गर्दै १९ रन जोडे ।
सिपी रिजवानले पनि ४६ बल खेलेर २ चौका मद्दतमा १९ रन बनाउँदै आउट हुँदा पालानियापन मेइयाप्पनले १४ रन जोडदै पेविलियन फर्किए ।
आसिफ खान र रोहन मुस्ताफाले समान ११ रन जोड्दा जाहोर खान २ रनमा पेविलियन फर्किए । युएईले अतिरिक्त रुपमा २० रन जोड्यो ।
पिएनजीका लागि रिले हेकुरेले ७(२ ओभर बलिङ गर्दै १६ रन दिएर सर्वाधिक ३ विकेट लिए ।
त्यस्तै, काबाउ मोरियाले ८ ओभरमा १ मेदन राख्दै २६ रन खर्चिएर २ विकेट लिँदा कप्तान अस्साद भालाले ८ ओभर बलिङ गर्ने क्रममा ३८ रन दिएर २ विकेट लिए ।
यता, सेमो कामियाले ७ ओभरमा ५५ रन खर्चिएर १ विकेट लिँदा नोर्मन भानुआले पनि ३ ओभरमा १४ रन दिएर १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको पिएनजीले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै २४६ रन बनाएको थियो ।
पिएनजीका लागि सेसे बाउले १०६ बल खेल्दै १० चौका मद्दतमा सर्वाधिक ८१ रन जोड्दै अविजित रहे ।
त्यस्तै, हिरी हिरीले ८५ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गर्दै ७७ रनको पारी खेले ।
विकेटकिपर केप्लिन दोरिगाले ४४ बलको सामना गर्दै ८ चौका र २ छक्का प्रहार गर्दै ५५ रन जोड्दा चाद सोपेर र नोर्मन भानुवाले समान १०–१० जोड्दै पेविलियन फर्किए ।
पिएनजीका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । चार्लिस एमिनी र हिला भारे समान ४ रनमा आउट हुँदा कबुआ मोरेया र रिले हेकुरे १–१ रनमा आउट भए ।
कप्तान अस्साद भाला शुन्य रनमा पेविलियन फर्किए । पिएनजीले अतिरिक्त रुपमा ३ रन जोड्यो ।
युएईका लागि आयान अफ्जल खानले १० ओभर बलिङ गर्ने क्रममा ३४ रन खर्चिएर ३ मेदन राख्दै सर्वाधिक ३ विकेट लिए ।
त्यस्तै, जाहोर खानले ७ ओभर बलिङ गर्दै ४९ रन दिएर २ विकेट लिँदा जुनैद सिद्वीक्युले ९ ओभर बलिङ गर्दै ३९ रन खर्चिएर १ मेदन राख्दै २ विकेट लिए ।
रोहन मुस्ताफा १० ओभरमा १ मेदन राख्दै २४ रन दिएर १ विकेट लिँदा पालानियापन मेइयाप्पनले ७ ओभरमा ३९ रन खर्चिएर १ विकेट लिए ।
जितसंगै पिएनजीले ३४ खेलमा ११ अंक जोडेको छ । पराजित युएईको ३३ खेलमा ३४ अंक छ ।
युएईले लिग २ मा ३ खेलमात्र खेल्न बाँकी रहँदा एकदिवसीय अन्तराष्ट्रिय (ओडिआई) मान्यता जोगाउन सबै खेल जित्न पर्ने दवाव थपिएको छ ।
अब आइतवार नेपालले युएईसंग खेल्नेछ ।