एजेन्सी । लगभग चार महिनापछि फर्किएको युरोपेली फुटबलको सर्वाधिक लोकप्रिय प्रतियोगिताको पहिलो हेबीवेट भिडन्तमा ब्रायन म्युनिखले जित हात पारेको छ ।
मंगलवार राति यूईएफए च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेग खेलमा जर्मन महारथी क्लब ब्रायन म्युनिखले फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई उसैको मैदानमा १–० ले स्तब्ध तुल्याएको हो ।
पेरिस देस प्रिन्सेस रंगशालामा भएको खेलमा भ्रमणकारी टोलीका लागि किंग्सले कोम्यानले एकमात्र निर्णायक गोल गरेका थिए ।
पेरिसमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५३ औं मिनेटमा अल्फोस्नो डेभिसको असिस्टमा कोम्यानले गोल गर्दै बुडेसलिगा क्लबलाई १–० को अग्रता दिलाएका थिए ।
खेलको अन्त्यतिर म्युनिखका बेन्जामिन पाभर्डले दोहोरो पहेलो कार्ड खादै मैदान छोडेका थिए । खेलमा थप गोल ननिस्केपछि खेल म्युनिखले जित्यो ।
अवे खेलमा जित हात पारेको जर्मन महारथी ब्रायन म्युनिख क्वाटरफाइनल पुग्ने सम्भावना बलियो भएको छ ।
राउण्ड अफ १६ अन्तर्गतको दोस्रो लेग खेलमा यी दुई टोली मार्च ९ तारिखमा म्युनिखको घरेलु मैदान एलियान्ज एरिनामा आमनेसामने हुनेछन् ।