एजेन्सी । साविक उपविजेता म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रतिष्ठित प्रतियोगिता द एफए कपको उपाधि जितेको छ ।
सनिवार राति भएको फाइनल खेलमा साविक विजेता समेत रहेको म्यानचेस्टर सिटीलाई २–१ ले पराजित गर्दै म्यानचेस्टर युनाइटेडले एफए कपको उपाधि जितेको हो ।
इंग्ल्याण्डको राष्ट्रिय रंगशाला वेम्बली स्टेडियममा भएको उपाधि भिडन्तमा युनाइटेडलाई उपाधि दिलाउन अलेक्जान्ड्रो ग्रानाचो र कोबी माइनोले गोल गरे ।
पराजित टोलीका लागि जेरेमी डोकुले एक गोल फर्काए ।
पहिलो हाफको ३० औं मिनेटमा सिटीका डिफेन्डर ग्भार्डियोलको गल्तीको फाइदा उठाउँदै ग्रानाचोले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि ३९ औं मिनेटमा कप्तान ब्रुनो फर्नान्डेजको पासमा माइनोले गोल गर्दै युनाइटेडलाई सनसनी २–० ले अघि बढाए ।
यता, दोस्रो हाफमा दुई गोलले पछि परेको प्रिमियर लिग विजेता सिटीले निरन्तर युनाइटेडमाथि दवाव सिर्जना गर्यो ।
खेलको अन्त्यतिर ८७ औं मिनेटमा फिल फोडेनको पासमा डोकुले गोल फर्काउँदा खेल २–१ को स्थितिमा आयो ।
त्यसपछि खेलमा थप गोल ननिस्केपछि युनाइटेड २–१ ले विजयी भयो ।
महत्वपूर्ण जितसंगै गएको सन् २०२२–२३ सिजनको एफए कपको फाइनलमा १–० ले बेहोरेको हारको बदला पनि युनाइटेडले लिएको छ ।
योसंगै जारी सिजनको प्रिमियर लिगमा आठौं स्थानमा रहेर लिग अन्त्य गरेको युनाइटेडले युईएफए युरोपा लिगमा स्थान बनाउन सफल समेत भएको छ ।
प्रिमियर लिगको विजेता सिटीलाई हराएसंगै युनाइटेडले इंग्लिस प्रतिष्ठत नकआउट प्रतियोगिता १३ औं पटक जित्न सफल भयो ।