एजेन्सी । युरो कपको तयारीमा रहेको पोर्चुगलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फिनल्याण्डमाथि जित हासिल गरेको छ ।
मंगलवार राति भएको खेलमा पोर्चुगलले फिनल्याण्डमाथि ४–२ को जित हासिल गरेको हो ।
पोर्चुगलको घरेलु मैदान इस्टाडियो जोसे अलभालाडे रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन ब्रुनो फर्नान्डेजले दुई गोल गर्दा डिएगो जोटा र रुवेन डायसले एक–एक गोल गरे ।
पराजित फिनल्याण्डका लागि टिमु पुकीले दुबै गोल फर्काए ।
खेल सुरु भएको १७ औं मिनेटमा भिटिन्हाको पासमा डायसले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि पहिलो हाफको इन्जुरी समयको चौथौं मिनेटमा जोटाले पेनाल्टीमार्फत् गोल थप्दा पोर्चुगल २–० ले अघि बढ्यो ।
यता, दोस्रो हाफको ५५ औं मिनेटमा फ्रान्सिस्को कोनसेइकाओको पासमा फर्नान्डेजले गोल गर्दा पोर्चुगल ३–० को आरामदायी अग्रतातर्फ अघि बढ्यो ।
तर, ७२ औं मिनेटमा रोबिन लडको पासमा पुकीले फिनल्याण्डका लागि गोल फर्काउँदा खेल ३–१ को अवस्थामा आयो ।
त्यसको पाँच मिनेटपछि नै ७७ औं मिनेटमा माटी पेलटोलाको पासमा पुकीले व्यक्तिगत रुपमा दोस्रो गोल फर्काउँदा खेल ३–२ को रोमाञ्चक अवस्थामा आयो ।
त्यसपछि ८४ औं मिनेटमा फ्रान्सिस्कोकै पासमा फर्नान्डेजले गोल थप्दा पोर्चुगल ४–२ ले विजयी भयो ।
मैत्रीपूर्ण खेलअन्तर्गत मंगलवार राति नै भएको अन्य खेलहरुमा स्विजरल्याण्डले इस्टोनियालाई ४–० को फराकिलो गोलअन्तरले हराउँदा आयरल्याण्डले हङ्गेरीमाथि २–१ को जित निकाल्यो ।
त्यस्तै, बलियो इटाली तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी टर्कीसंग गोलरहित बराबरीमा रोकिँदा अष्ट्रियाले सर्बियामाथि २–१ को जित निकाल्यो ।