भक्तपुर । नेपाल १६ वर्षमुनीको महिला मैत्रीपूर्ण खेलमा भुटानसंग फराकिलो गोलअन्तरले पराजित भएको छ ।
शुक्रवार दिउँसो भएको यु–१६ महिला मैत्रीपूर्ण खेलमा नेपाल भुटानसंग ५–१ को फराकिलो गोलअन्तरले पराजित भएको हो ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले पहिलो हाफ तीन र दोस्रो हाफमा दुई गोल बेहोर्यो ।
पहिलो हाफको २५ औं मिनेटमा कुइनडेन सोनाम छोगेलले गोल गर्दै भ्रमणकारी टोलीलाई सुरुवाती अग्रता दिलाइन् ।
त्यसपछि ३५ औं मिनेटमा छिरिङ लाम्होले गोल गर्दा भुटान २–० ले अघि बढ्यो ।
त्यसको पाँच मिनेटपछि नै छिरिङले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा नेपाल खेलमा ३–० ले पछि पर्यो ।
दोस्रो हाफको ६६ औं मिनेटमा कुइनडेनले गोल थप्दा भुटान ४–० ले अघि बढ्यो ।
त्यस्तै, ८४ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान छिरेकी उग्यन सोमोले पेनाल्टीमा गोल थप्दा नेपाल ५–० ले पछि पर्यो ।
खेलको अन्त्यतिर ८७ औं मिनेटमा सविना तामाङले गरेको गोल नेपालका लागि सान्तोना बन्यो ।