एजेन्सी । अमेरिकी घरेलु लिग मेजर लिग सकर (एमएलएस) अन्तर्गत खेलमा लियोनल मेसी प्रेरित इन्टर मियामीले पुनरागमन जित हासिल गरेको छ ।
आईतवार विहान भएको एमएलएसअन्तर्गत खेलमा मेसी प्रेरित इन्टर मियामीले नाश्भेलमाथि ३–१ को पुनरागमन जित हासिल गरेको हो ।
मियामीको घरेलु मैदान चेस स्टेडियममा भएको खेलमा घरेलु टोलीको जितमा कप्तान मेसीले दुई गोल गर्नुका साथै सर्जियो बस्क्वेटको गोलका लागि असिस्ट प्रदान गरे ।
यता, मियामीका फ्रान्को नाग्रीले एक आत्मघाती गोल भ्रमणकारी टोलीलाई उपहार दिए ।
खेल सुरु भएको दोस्रो मिनेटमै नाग्रीले आत्मघाती गोल गर्न पुग्दा नाश्भेलले १–० को अग्रता लियो ।
तर, ११ औं मिनेटमा लुइस सुवारेजको पासमा मेसीले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्यायो ।
त्यस्तै, ३९ औं मिनेटमा मेसीको पासमा बस्क्वेटले गोल गर्दा मियामी २–१ ले अघि बढ्यो ।
यता, दोस्रो हाफको ८१ औं मिनेटमा मेसीले पेनाल्टीमार्फत् गोल थप्दा मियामी ३–१ ले विजयी भयो ।
पुनरागमन जितसंगै मियामीले १० खेलबाट १८ अंक जोड्दै ग्रुप इस्टको लिग तालिकामा शीर्ष स्थानमा कायम रहेको छ ।
पराजित नाश्भेलको ८ खेलमा ७ अंकसहित तालिकाको १४ औं स्थानमा रहेको छ ।