
एजेन्सी । लियोनल मेसी प्रेरित खेलमा इन्टर मियामीले मेजर लिग सकर (एमएलस) मा फिलाडेलफिया युनियनमाथि सहज जित हासिल छ ।
आईतवार विहान भएको खेलमा मेसी प्रेरित इन्टर मियामीले फिलाडेलफिया युनियनमाथि ३–१ को सहज जित हासिल गरेको हो ।
मियामीको घरेलु मैदान चेस रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन कप्तान मेसीले दुई गोल गर्दा अर्को एक गोलका लागि असिस्ट प्रदान गरे ।
खेल सुरु भएको दोस्रो मिनेटमै माइकल उहरेको गोलमार्फत् भ्रमणकारी टोलीले १–० को अग्रता लियो ।
तर, २६ औं मिनेटमा लुइस सुवारेजको पासमा मेसीले घरेलु टोलीका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
त्यसको चार मिनेटपछि नै जोर्डी अल्भाको पासमा मेसीले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा मियामी खेलमा २–१ ले अघि बढ्यो ।
यता, खेलको इन्जुरी समयको आठौं मिनेटमा मेसीको असिस्टमा सुवारेजले गोल थप्दा मियामी ३–१ ले विजयी भयो ।
पुनरागमन जितसंगै मियामीले २८ खेलबाट ६२ अंक जोडेर ग्रुप इस्टको तालिकामा शीर्ष स्थानमा रहेको छ ।