एजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले बीबीसी स्पोर्ट पर्सनालिटीअन्तर्गत ‘वर्ल्ड स्पोर्ट स्टार अफ द इयर’ अवार्ड जितेका छन् ।
इंग्लिस मिडिया बीबीसीले सन् २०२२ को अवार्ड मेसीले जितेको जनाएको छ ।
बीबीसीले प्रत्येक वर्ष गैर इंग्लिस खेलाडीलाई दिइदै आएको उक्त अवार्ड यसपाली मेसीलाई प्रदान गरेको हो ।
हरेक वर्ष विश्व खेलकुदमा महत्वपूर्ण योगदान गर्ने खेलाडीमध्ये उत्कृट एकलाई यो अवार्ड प्रदान गरिदै आएको छ ।
सन् १९६० देखि दिइदै आएको यस अवार्ड यसअघिको (२०२१) आयरल्याण्डका रिचाइल ब्ल्याकमोरले जितेका थिए । उनी घोडा दौडका खेलाडी हुन् ।
यसपटकको अवार्ड भने फुटबल खेलका मेसीले जितेका हुन् ।
७ पटकका बेलोन डीओआर विजेता मेसीले आइतबार कतारमा अर्जेन्टिनालाई विश्वकप उपाधि जिताउन महत्वपूर्ण योगदान दिएका थिए ।
२२ औं संस्करणको विश्वकपको उपाधि भिडन्तमा अर्जेन्टिनाले फ्रान्सलाई ट्राइब्रेकरमा ४–२ ले पराजित गर्दै विश्वकप जितेको थियो । अर्जेन्टिनाले तेस्रो पटक उपाधि जित्दा मेसीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
कतारमा मेसीले आफ्नो करियरको पहिलो विश्वकप उपाधि जित्दा प्रतियोगिताको सर्वोकृष्ट खेलाडी बन्दै गोल्डेन बलसमेत जितेका थिए ।
फ्रान्सेली महारथी क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट व्यवसायिक फुटबल खेलिरहेका मेसीले विश्वकपमा ७ गोल गरेका थिए ।
आफ्नो देशका लागि विश्वकपसंगै कोपा अमेरिका, फाइनलसिमा लगायतका प्रतिस्थित उपाधि उचालिसकेका उनले क्लब फुटबलमा पनि सबै खाले उपाधि जितिसकेका छन् ।