
एजेन्सी । सर्वकालिन महान् खेलाडी लियोनल मेसीप्रेरित कोनमेबोल विश्वकप छनोट खेलमा अर्जेन्टिनाले बोलिभियामाथि फराकिलो जित निकालेको छ ।
बुधवार विहान भएको ल्याटिन अमेरिकी विश्वकप छनोट खेलमा विश्व विजेता अर्जेन्टिनाले बोलिभियामाथि एकपक्षिय रुपमा ६–० को फराकिलो जित निकालेको हो ।
अर्जेन्टिनाको घरेलु मैदान मास मोनुमेन्टल रंगशालामा भएको खेलमा कप्तान मेसीले ह्याट्रिकसहित दुई असिस्ट प्रदान गर्दा लाउटारो मार्टिनेज, जुलियान अल्भारेज र थियागो अल्मान्डाले एक–एक गोल गरे ।
खेल सुरु भएको १९ औं मिनेटमा मार्टिनेजको पासमा मेसीले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि पहिलो हाफको ४३ औं मिनेटमा मेसीको पासमा मार्टिनेजले गोल गर्दा अर्जेन्टिना २–० ले अघि बढ्यो ।
यता, पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा मेसीकै असिस्टमा अल्भारेजले गोल थप्दा अर्जेन्टिना ३–० ले अघि बढ्यो ।
दोस्रो हाफको ६९ औं मिनेटमा नहुल मोलिनाको पासमा अल्मान्डाले गोल थप्दा विश्व विजेता टोली ४–० ले अघि बढ्यो ।
त्यस्तै, ८४ औं मिनेटमा इक्जेक्विल पालासियोसको पासमा मेसीले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा घरेलु टोली ५–० ले अघि बढ्यो ।
त्यसको दुई मिनेटपछि नै निको पाजको पासमा मेसीले ह्याट्रिक पूरा गर्दा अर्जेन्टिना ६–० ले विजयी भयो ।
फराकिलो जितसंगै अर्जेन्टिनाले १० खेलबाट २२ अंक जोडेर लिग तालिकाको शीर्ष स्थानमा कायम रहेको छ ।
पराजित बोलिभियाको भने समान १० खेलमा १२ अंकसहित तालिकाको सातौं स्थानमा झरेको छ ।