एजेन्सी । २२ औं संस्करणको फिफा विश्वकप विजेता राष्ट्र अर्जेन्टिनाका कप्तान लियोनेल मेसीको फोटो अर्जेन्टिनी नोटमा छाप्ने तयारी भएको समाचार प्रकाशित भएको छ ।
एल फाइनासिएरो पत्रिकालाई उल्लेख गर्दै द सनले यो समाचार प्रकाशित गरेको हो ।
समाचार अनुसार दक्षिण अमेरिकी राष्ट्रको वित्तीय नियामक निकायले राष्ट्रका नायकको फोटो राखेर नयाँ नोट छाप्ने तयारी गरेको हो ।
यसअघि सन् १९७८ मा अर्जेन्टिनाले पहिलोपटक विश्वकप जित्दा अर्जेन्टिनाको केन्द्रीय बैंकले त्यस जीतलाई दर्साउने सिक्का जारी गरेको थियो ।
समाचार अनुसार मेसीले नम्बर १० को जर्सी लगाउने हुँदा १ हजार पेसोमा उनको फोटो राख्ने बारेमा छलफल थालिएको हो ।
वर्तमान विश्व फुटबलका सर्वोकृष्ट खेलाडी समेत रहेका मेसीले क्लब फुटबलमा सबैखाले उपाधि जितिसकेका छन् ।
सात पटकका बेलान डीओआर विजेताले व्यक्तिगत विधामा पनि सबैखाले ट्रफी जितिसकेका छन् ।
यता, अर्जेन्टिनालाई कतार विश्वकप जिताएसंगै ३५ वर्षिय मेसीले आफ्नो राष्ट्रका लागि पनि सबै खाले महत्वपूर्ण उपाधि जितेका छन् ।