
एजेन्सी । इटालियन सिरी एमा एसी मिलान एएस रोमासंग बराबरीमा रोकेको छ ।
आइतवार राति भएको खेलमा घरेलु टोली मिलान २ गोलको अग्रता जोगाउन नसक्दा रोमासंग २–२ गोलको बराबरीमा रोकेको हो ।
गिउसेपे मियाजा रंगशालामा मिलानका लागि पिइरे कालुलु र तोम्मासो पोबेगाले गोल गर्दा रोमाका लागि रोजर बानेज र ट्यामी अब्राहमले गोल गरेका थिए ।
खेलको ३० औं मिनेटमा कालुलुको गोलमार्फत घरेलु टोलीले सुरुवाती अग्रता लिएको थियो ।
पहिलो हाफ १–० ले अघि रहेको मिलानले दोस्रो हाफको ७७ औं मिनेटमा गोल गर्दा खेल २–० को आरामदायी अवस्थामा पुगेको थियो ।
तर मिलान निर्धारित समयको अन्तिम ६ मिनेट सम्हालिन नसक्दा अंक बाड्न बाध्य बन्यो । ८७ औं मिनेटमा रोजरले गोल गर्दा खेल २–१ को अवस्थामा पुग्यो ।
खेलको ९३ औं मिनेटमा अब्राहमले गोल गर्दा भ्रमणकारी टोलीले मिलानसंग एक अंक खोस्न सफल भयो ।
बराबरीसंगै १७ खेलमा मिलानको ३७ अंक छ । सिरी एको तालिकामा समान अंक भए तापनि युभेन्टस दोस्रो स्थानमा रह्यो । मिलान भने तेस्रो स्थानमा छ ।
यता, एक अंक खोस्न सफल रोमाको १७८ खेलमा ३१ अंक छ । रोमा तालिकाको छैटौं स्थानमा छ ।
गयराति नै भएको अन्य खेलमा नापोलीले साम्पदोरामाथि २–० को जित निकाल्दा स्पाइजिया र लेसको खेल गोलरहित बराबरीमा सकियो ।
त्यस्तै, लाजियो र एम्पोली २२ को बराबरीमा रोकिँदा टोरिनो र सालेरनिताना पनि १–१ को बराबरीमा रोकियो ।