
एजेन्सी । प्रिमियर लिग क्लब चेल्सीले एएफएल कपअन्तर्गत सेमिफाइनलको दोस्रो लेग खेलमा च्याम्पियनसिप क्लब मिडल्सबर्गमाथि फराकिलो जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ ।
मंगलवार राति भएको इएफएल कपअन्तर्गत दोस्रो सेमिफाइनल खेलमा बलियो चेल्सीले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी मिडल्सबर्गमाथि ६–१ को फराकिलो जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो ।
लण्डन क्लबले सेमिफाइनलमा समग्रमा ६–२ को जित हासिल गर्यो ।
यसअघि सेमिफाइनलको पहिलो लेग खेलमा चेल्सी अप्रत्यासित रुपमा १–० ले पराजित भएको थियो ।
चेल्सीको घरेलु मैदानन स्टामफोर्ड ब्रिज रंगशालामा भएको खेलमा घरेलु टोलीका लागि कोल पाल्मरले दुई गोल गर्दा इन्जो फर्नान्डेज, एलेक्स डिसासी र नोनी मादुइकेले समान एक–एक गोल गरे ।
यता, भ्रमणकारी टोलप्का जोनी हाउसनले चेल्सीलाई आत्मघाती एक गोल उपहार दिए ।
मिडल्सबर्गका लागि भने मोर्गान रोर्जसले सान्तोना एक गोल फर्काए ।
खेल सुरु भएको १५ औं मिनेटमा जोनी हाउसनको आत्मघाती गोलमार्फत् चेल्सीले सुरुवाती अग्रता लियो ।
त्यसपछि २९ औं मिनेटमा फर्नान्डेजको गोलमार्फत् चेल्सीले अग्रता दोब्बर पार्यो ।
लगत्तै ३६ औं मिनेटमा रहिम स्टर्लिङको पासमा एलेक्स डिसासीले गोल थप्दा चेल्सी ३–० को आरामदायी अग्रतासहित अघि बढ्यो ।
यता, ४२ औं मिनेटमा कोल पाल्मरले गोल थप्दा घरेलु टोलीले पहिलो हाफसम्ममा ४–० को फराकिलो अग्रता बनायो ।
दोस्रो हाफको ७७ औं मिनेटमा कोनोर गाल्लाघरको पासमा पाल्मरले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा चेल्सी ५–० ले अघि बढ्यो ।
त्यसको ४ मिनेटपछि नै गाल्लाघरकै असिस्टमा नोनी मादुकेले गोल थप्दा चेल्सी ६–० ले अघि बढ्यो ।
यता, खेलको अन्त्यतिर ८८ औं मिनेटमा हेडिन ह्याक्नेको पासमा मोर्गान रोजर्सले मिडल्सबर्गका लागि सान्तोना गोल फर्काउँदा खेल ६–१ ले सकियो ।
अब चेल्सीले लिग कप उपाधिका लागि लिभरपूल र फुलहमबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।