भक्तपुर । काठमाडौंमा जारी सातौं संस्करणको साफ महिला च्याम्पियनसिपको सेमिफाइनल समिकरण पूरा भएको छ ।
विहिवार समूह चरणका खेलहरु सम्पन्न भएसंगै दक्षिण एसियाली महिला फुटबलको शीर्ष प्रतियोगिताको सेमिफाइनल पुग्ने समिकरण पूरा भएको हो ।
दक्षिण एसियाली क्षेत्रका सातै राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा आयोजक राष्ट्र नेपालसहित भारत, बंगलादेश र भुटानले अन्तिम चारको यात्रा तय गर्यो ।
बंगलादेश साविक विजेता टोली हुन् भने नेपाल साविक उपविजेता टोली हो ।
त्यस्तै, भारत यस प्रतियोगिताकै सर्वाधिक सफल टोली हो ।
भारतले अहिलेसम्म सर्वाधिक पाँचपल्ट महिला साफको उपाधि जितेको छ ।
यता, भुटान भने दक्षिण एसियाको उदयीमान टोलीका रुपमा प्रस्तुत भएको छ ।
दुई समूहमा विभाजन गरि खेलाइएको समूह चरणका खेलहरुमा समूह ‘ए’ मा भारत, पाकिस्तान र बंगलादेश रहेका थिए ।
त्यस्तै, समूह ‘बी’ मा भने नेपालसहित श्रीलंका, माल्दिभ्स र भुटान रहेका थिए ।
समूह ‘ए’ बाट बंगलादेशले २ खेल खेल्दा १ मा जित र अर्कोमा बराबरीको नतिजा निकाल्दै ४ अंक जोडेर समूह विजेता बन्यो ।
यसक्रममा बंगलादेशले पहिलो खेलमा पकिस्तानसंग १–१ को बराबरी खेल्दा दोस्रो खेलमा बलियो टोली भारतलाई ३–१ ले पराजित गर्यो ।
यता, बंगलादेशसंग स्तब्धपुर्ण हार बेहोरेको भारतले भने पाकिस्तानलाई ५–२ गोलअन्तरले हराएको थियो ।
जसले गर्दा भारतले समूह तालिकामा ३ अंक जोडेर समूह उपविजेताका रुपमा अन्तिम चारमा स्थान सुरक्षित गर्यो ।
यता, सोहि समूहमा रहेको पाकिस्तानले भने दुई खेलबाट १ मा जित र १ मा हारको नतिजा आत्मसाथ गर्दै मात्र १ अंक जोडेर तालिकाको पुच्छारमा रहँदै समूह चरणबाटै घर फर्कियो ।
समूह ‘बी’ मा भने नेपालले ३ खेल खेल्दा २ मा जित र १ मा बराबरीको नतिजा निकाल्दै ७ अंक जोडेर समूह विजेता बन्दा समान ३ खेलमा समान ७ अंक नै जोडेको भुटान भने गोलअन्तरमा पछि पर्दै समूह उपविजेता बन्यो ।
भुटानसंग पहिलो खेलमा गोलरहित बराबरीमा राकिएको नेपालले दोस्रो खेलमा माल्दिभ्समाथि ११–० र तेस्रो खेलमा श्रीलंकामाथि ६–० को फराकिलो जित निकाल्यो ।
नेपालले यसक्रममा १७ गोल गर्दा कुनैपनि गोल बेहोरेन ।
यता, यस संकरणमा सनसनी प्रदर्शन देखाइरहेको भुटानले पहिलो खेलमा नेपाललाई गोलरहित बराबरीमा रोक्यो भने दोस्रो खेलमा श्रीलंकालाई ४–१ ले हरायो ।
त्यस्तै, तेस्रो खेलमा माल्दिभ्सलाई १३–० को फराकिलो गोलअन्तरले पराजित गर्यो ।
यस समूहबाट श्रीलंका र माल्दिभ्स समूह चरणबाटै बाहिरिने टोली बन्यो ।
अब सेमिफाइनलमा नेपालले चिरपरिचित प्रतिद्वन्दी भारतको सामना गर्ने तय हुँदा साविक विजेता बंगलादेशले भुटानसंग प्रतिस्पर्धा गर्ने भएको छ ।
नेपाल र भारतले गत संस्करणमा पनि सेमिफाइनल खेलेको थियो ।
सेमिफाइनलका खेलहरु आईतवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाइने छ ।
सेमिफाइनलअन्तर्गत पहिलो खेल दिउँसो १ः३० बजे सुरु हुने तालिका रहँदा दोस्रो खेल साँझ ६ः३० बजे सुरु हुनेछ ।