भक्तपुर । काठमाडौंमा सुरु भएको सातौं संस्करणको साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा भारतले जित हासिल गरेको छ ।
विहिवार भएको खेलमा भारतले चिरपरिचित प्रतिद्वन्दी पाकिस्तानमाथि ५–२ को जित हासिल गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बलियो भारतको जितमा ग्रेस डाङमेइले दुई गोल गर्दा मनिषा, बाला देवी ज्योती चोहानले एक–एक गोल गरिन् ।
पाकिस्तानका लागि भने सुहा हिरानी र काइला मरी सिद्दीकीले गोल फर्काइन् ।
खेल सुरु भएको पाँचौं मिनेटमा ग्रेसले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलायो ।
त्यसपछि १७ औं मिनेटमा मनिषाले गोल गर्दा भारत २–० ले अघि बढ्यो ।
त्यस्तै, ३५ औं मिनेटमा बाला देवीले गोल थप्दा भारत ३–० को सहज अग्रतासहित अघि बढ्यो ।
यता, ४२ औं मिनेटमा ग्रेसले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा भारतले ४–० को फराकिलो अग्रता बनायो ।
तर, पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा सुहाले पेनाल्टीमा पाकिस्तानका लागि गोल फर्काउँदा खेल ४–१ को अवस्थामा आयो ।
दोस्रो हाफको ४७ औं मिनेटमा काइला मरीले पाकिस्तानका लागि गोल फर्काउँदा खेल ४–२ को अवस्थामा आयो ।
यता, ७७ औं मिनेटमा ज्योतिले गोल थप्दा भारत ५–२ ले विजयी भयो ।
जितसंगै भारतले समूह ‘ए’ मा महत्वपूर्ण ३ अंक जोडेको छ ।