भक्तपुर । नेपालले १९ वर्षमुनीको एसीसी महिला यु–१९ एसिया कपमा पाकिस्तानमाथि जित निकालेको छ ।
सोमवार भएको खेलमा नेपालले टेस्ट राष्ट्र पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो ।
मलेसियामा भएको खेलमा १०५ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको नेपालले १९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपाली टोलीलाई जिताउन कप्तान पुजा महतोले ४७ बलमा ३ चौका प्रहार गर्दै ४७ रन जोडेर अविजित रहिन् ।
त्यस्तै, सोनी पाख्रिनले २० बलमा १ चौका प्रहार गर्दै १३ रन जोडेर रनआउट हुँदा सिमाना केसीले १२ बल खेल्नेक्रममा १२ रन जोडेर अविजित रहिन् ।
यता, ओपनर ब्याटर साना प्रविनले १५ बलमा १ चौका प्रहार गर्दै १० रन जोडेर रनअउट हुँदा अर्का ओपनर सावित्री धामी ८ र जोत्स्निका मरासैनी शुन्य रनमा पेविलियन फर्किइन् ।
नेपालले अतिरिक्त रुपमा १५ रन जोड्यो ।
पाकिस्तानका लागि फातिमा खान र क्वाराटुलेन आशेनले १–१ विकेट लिइन् ।
त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको पाकिस्तानले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १०४ रन जोड्यो ।
पाकिस्तानका लागि ओपनर ब्याटर कोमल खानले ४३ बलमा २ चौका प्रहार गर्दै ३८ रन जोड्दा महम एनिसले ३८ बल खेल्नेक्रममा २ चौका प्रहार गर्दै २९ रन जोड्दै अविजित रहिन् ।
त्यस्तै, रभिल फरानले १५ बलमा २ चौका प्रहार गर्दै १३ रन जोडेर आउट हुँदा कप्तान जोफिशान आयाजले १५ बल खेल्दै १२ रन जोडेर पेविलियन फर्किन् ।
यता, फातिमा खान ६ रनमा अविजित रहँदा अरेशा अन्सरी १ र फिजा फैज शुन्य रनमा पेविलियन फर्किन् ।
पाकिस्तानले अतिरिक्त रुपमा ५ रन जोड्यो ।
नेपालका लागि पुजा महतोले २ विकेट लिँदा रचना चौधरी, रिया शर्मा र समिना केसीले समान १–१ विकेट लिइन् ।