
एजेन्सी । स्पेनले १४ औं संस्करणको युईएफए महिला युरोमा पोचुगलमाथि फराकिलो जित निकालेको छ ।
विहिवार राति भएको खेलमा बलियो स्पेनले पोर्चुगलमाथि ५–० को फराकिलो जित निकालेको हो ।
स्विजरल्याण्डको बेर्नस्थित स्टाडिअन वान्कदोर्फ रंगशालामा भएको खेलमा स्पेनलाई जिताउन इस्थेर गोन्जालेजले दुई गोल गर्दा भिक्की लोपेज, एलेक्सिया पुटेल्लास र क्रिस्टिना मार्टिन प्रेइटोले समान एक–एक गोल गरिन् ।
खेल सुरु भएको दोस्रो मिनेटमै गोल्गा कार्मोनाको पासमा गोन्जालेजले गोल गर्दै स्पेनिस टोलीलाई सुरुवाती अग्रता दिलाइन् ।
त्यसपछि सातौं मिनेटमा मारिओना कालदेन्टेको पासमा लोपेजले गोल गर्दा स्पेन २–० ले अघि बढ्यो ।
त्यस्तै, ४१ औं मिनेटमा कालदेन्टेकै पासमा पुटेल्लासले गोल गर्दा स्पेन ३–० ले अघि बढ्यो ।
त्यसको दुई मिनेटपछि नै गोन्जालेजले गोल थप्दा पहिलो हाफसम्म स्पेन ४–० को फराकिलो अन्तरले अघि बढ्यो ।
यता, खेलको इन्जुरी समयको तेस्रो मिनेटमा साल्मा पारालुइलोको पासमा क्रिस्टिनाले गोल गर्दा स्पेन ५–० ले विजयी भयो ।
फराकिलो जितसंगै स्पेनले समूह ‘बी’ मा ३ अंक जोडेको छ ।