भक्तपुर । नेपालले पहिलो संस्करणको एसीसी महिला प्रिमियर कपअन्तर्गत पहिलो खेलमा हङकङलाई पराजित गर्दै सुखद सुरुवात गरेको छ ।
आईतवार विहान भएको समूह चरणको पहिलो खेलमा नेपालले हङकङलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।
हङकङमाथि सहज जित निकालेसंगै समूह ‘डी’ मा रहेको नेपालले अंक तालिकामा महत्वपूर्ण २ अंक जोडेको छ ।
मलेसियाको सेरि केम्बाङगानस्थित एसटिसी क्रिकेट मैदानमा भएको खेलमा ९४ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको नेपालले १४.१ ओभर खेल्नेक्रममा २ विकेट गुमाउँदै ९५ रन जोड्यो ।
नेपालको जितमा कप्तान इन्दु बर्माले ३३ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ४० रन जोडेर कप्तानी पारी खेल्दा ओपनर ब्याट्सउमन सिता राणामगरले ३८ बलमा १ चौका र १ छक्का प्रहार गर्दै ३६ रन जोडेर अविजित रहिन् ।
त्यस्तै, अर्का ओपनर कविता कुनवार ४ रनमा पेविलियन फर्किदा रुविना क्षेत्री शुन्य रनमा अविजित रहिन् ।
नेपालले अतिरिक्त रुपमा १५ रन जोड्यो ।
हङकङका लागि इक्रा सहरले २ ओभर बलिङ गर्दै ९ रन दिएर १ विकेट लिँदा बेटी चानले ३.१ ओभर बलिङ गर्नेक्रममा २१ रन खर्चिएर १ विकेट लिइन् ।
त्यसअघि नेपालको निम्तोमा पहिला ब्याटिङमा उत्रिएको हङकङले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै ९३ रन जोड्यो ।
हङकङका लागि कप्तान केरी चानले ३१ बलमा ३ चौका प्रहार गर्दै २१ रन जोड्दा म्यारियाम बिबीले २० बल खेल्नेक्रममा १९ रन जोड्दै रन आउट भइन् ।
त्यस्तै, यास्मिन डासवानीले २१ बलमा १५ रन जोड्दै आउट हुँदा ओपनर ब्याट्सउमन नताशा माइल्सले १९ बल खेल्नेक्रममा १ चौका प्रहार गर्दै ११ रन जोडेर पेविलियन फर्किन् ।
यता, मारिना लामप्लोग ९, मारिको हिल ४, इक्रा सहर १ र शानजीन शाहजाद शुन्य रनमा पेविलियन फर्किदा बेटी चान ४ र विकेटकिपर हिउ यिङ चेउङ १ रनमा अविजित रहिन् ।
हङङकले अतिरिक्त रुपमा ८ रन जोड्यो ।
हङकङलाई सस्तैमा समेत्न नेपालका लागि रुविना क्षेत्रीले ४ ओभर बलिङ गर्दा १५ रन दिएर २ विकेट लिँदा पुजा महतोले पनि ४ ओभर नै बलिङ गर्नेक्रममा १ मेडनसहित १९ रन दिएर २ विकेट लिइन् ।
त्यस्तै, कविता जोशीले २ ओभर बलिङ गर्दै १५ रन दिएर १ विकेट लिँदा सिता राणामगरले ४ ओभरमा २२ रन खर्चिएर १ विकेट लिए ।
अब नेपालले प्रतियोगिताअन्तर्गत दोस्रो खेल आईतवार भुटानविरुद्व खेल्नेछ ।