
एजेन्सी । अष्ट्रेलियाले आईसीसी महिला टि–२० विश्वकपमा भारतलाई पराजित गरेको छ ।
आईतवार राति भएको खेलमा साविक विजेता समेत रहेको अष्ट्रेलियाले भारतलाई ९ रनले पराजित गरेको हो ।
अष्ट्रेलियाले समूह चरणका सबै चारै खेलमा जित निकाल्दै समूह ‘ए’ को तालिकामा ८ अंक जोड्दै समूह विजेता बन्न सफल रह्यो ।
अष्ट्रेलिया यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
यता, भारतले भने समूह चरणको चार खेलमध्येमा दुईमा जित र दुईमा हारको मिश्रित नतिजा आत्मसाथ गर्दै ४ अंक जोडेर तालिकाको दोस्रो स्थानमा कायम रहेको छ ।
न्युजिल्याण्डको पनि समान ४ अंक नै भए पनि नेट रननेटका आधारमा भारत दोस्रो स्थानमा रहेको हो ।
भारतको सेमिफाइनल पुग्ने सम्भावना अव न्युजिल्याण्ड र पाकिस्तानबीचको खेलले निर्धारण गर्ने भएको छ ।
न्युजिल्याण्ड जितेमा भारत समूह चरणबाटै बाहिरिनेछ भने पाकिस्तान जितेमा भने भारत नकआउट चरणमा प्रवेश गर्नेछ ।
युएईको सारजाहस्थित सारजाह क्रिकेट रंगशालामा भएको खेलमा १५२ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको भारत निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै मात्र १४२ रनमा समेतियो ।
भारतका लागि कप्तान हमर्नप्रित कौरले ४७ बलमा ६ चौका प्रहार गर्दै ५४ रनको अर्धशतकिय पारी खेल्दा दिप्ती शर्माले २५ बलमा ३ चौका प्रहार गर्दै २९ रन जोडेर पेविलियन फर्किन् ।
त्यस्तै, ओपनर ब्याटर शफाली बर्माले १३ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २० रन जोडेर आउट हुँदा जेमिमाह रोड्रिगेजले १२ बल खेल्दै ३ चौका प्रहार गरेर १६ रन जोडेर पेविलियन फर्किन् ।
यता, पुजा भस्ट्राकर ९, अर्का ओपनर स्मृति मन्डना ६ र विकेटकिपर रिचा घोष १ रनमा पेविलियन फर्किदा भारतका अन्य ३ ब्याटर शुन्य रनमा आउट भइन् ।
रेणुका सिंह भने १ रनमा अविजित रहिन् ।
भारतले अतिरिक्त रुपमा ६ रन जोड्यो ।
भारतमाथि जित निकाल्न अष्ट्रेलियाका लागि एनाबेल सथरल्याण्ड र सोफी मोलिनेउक्सले समान २–२ विकेट लिँदा मेगन स्चुट र अश्लैग गार्डनरले समान १–१ विकेट लिइन् ।
त्यसअघि टस जितेर अष्ट्रेलियाले पहिला ब्याटिङ गर्ने निर्णय लियो ।
साविक विजेता टोलीले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १५१ रन जोड्यो ।
अष्ट्रेलियाका लागि ओपनर ब्याटर ग्रेस ह्यारिसले ४१ बलमा ५ चौका प्रहार गर्दै ४० रन जोड्दा कप्तान ताहलिया म्याकग्राथले २६ बल खेल्नेक्रममा ४ चौका प्रहार गर्दै ३२ रन जोडेर पेविलियन फर्किन् ।
त्यस्तै, इल्से पेरीले २३ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३२ रन जोडेर आउट हुँदा फोएब लिट्चफिल्डले ९ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरेर १० रन जोड्दै अविजित रहिन् ।
यता, अश्लैग गार्डनर ६ र विकेटकिपर बेथ मोनी २ रन बनाएर आउट हुँदा अन्य ३ खेलाडीले अंकको खाता नै खोल्न सकेनन् ।
अष्ट्रेलियाले अतिरिक्त रुपमा १४ रन जोड्यो ।
भारतका लागि रेणुका सिंह र दिप्ती शर्माले समान २–२ विकेट लिँदा श्रेयाङ्का पाटिल, पुजा भास्ट्राकर र राधा यादवले समान १–१ विकेट लिइन् ।