
भक्तपुर । युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी ९ औं संस्करणको आईसीसी महिला टि–२० विश्वकपको सेमिफाइनल समिकरण पूरा भएको छ ।
मंगलवार समूह चरणको अन्तिम खेल सकिएसंगै सेमिफाइनल पुग्ने चारै टोलीको टुंगो लागेको हो ।
सेमिफाइनलमा साविक विजेता अष्ट्रेलियासहित साविक उपविजेता दक्षिण अफ्रिका, न्युजिल्याण्ड र वेस्ट इन्डिजले स्थान बनाउन सफल रह्यो ।
दुई समूहमा विभाजन गरि खेलाइएको समूह चरणबाट अष्ट्रेलिया र न्युजिल्याण्ड समूह ‘ए’ बाट र दक्षिण अफ्रिका र वेस्ट इन्डिज समूह ‘बी’ बाट अन्तिम चारमा प्रवेश गरेका हुन् ।
कुल १० टोलीको सहभागिता रहेको विश्वकपमा प्रत्येक समूहमा ५–५ टोली रहेका थिए ।
राउण्ड एन्ड रोविन प्रणालीमा खेलाइएको समूह चरणमा समूह ‘ए’ बाट अष्ट्रेलियाले ४ खेल खेल्दा शतप्रतिशत जित हासिल गर्दै ८ अंक जोडेर समूह विजेता बन्न सफल भयो ।
त्यस्तै, सोहि समूहबाट न्युजिल्याण्डले ४ खेलबाट ३ मा जित र १ मा हारको नतिजा निकाल्दै ६ अंक जोडेर समूहमा दोस्रो मा रहँदै उपविजेता बन्यो ।
सो समूहबाट बलियो मानिएको भारत, पाकिस्तान र श्रीलंका समूह चरणबाट बाहिरियो ।
यता, रोमाञ्चक रहेको समूह ‘बी’ बाट भने वेस्ट इन्डिज, दक्षिण अफ्रिका र इंग्ल्याण्डको समान ४ खेलबाट ३ मा जित र १ मा हारको नतिजासहित समान ६–६ अंक रहेको थियो ।
नेट रननेटका आधारमा वेस्ट इन्डिज समूह विजेता बन्दा दक्षिण अफ्रिका उपविजेता बन्न सफल भयो ।
इंग्ल्याण्ड भने नेट रननेटमा अभागी रहँदै सेमिफाइनल पुग्नबाट बञ्चित रह्यो ।
सो समूहबाट बंगलादेश र स्कटल्याण्ड पनि समूह चरणबाटै घर फर्कियो ।
अब सेमिफाइनलमा साविक विजेता अष्ट्रेलियाले दक्षिण अफ्रिकासंग विहिवार राति प्रतिस्पर्धा गर्नेछ भने वेस्ट इन्डिजले न्युजिल्याण्डसंग शुक्रवार राति खेल्ने तालिका रहेको छ ।
दुबै सेमिफाइनलका खेलहरु नेपाली समयअनुसार राति पौने ८ बेज सुरु हुनेछ ।
सेमिफाइनलमा विजयी हुने दुई टोलीले उपाधिका लागि आईतवार राति प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।